कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी विभाजनको सम्भावना रोक्न तत्काल अधिवेशन प्रक्रिया स्थगन गरी एकताको पहल गर्न नेतृत्वसँग आग्रह गरेका छन्।

पार्टीभित्रको वर्तमान विवादले कांग्रेस विभाजनउन्मुख देखिनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै मल्लले यथास्थितिमा भइरहेको अधिवेशन प्रक्रिया तत्काल रोक्न आग्रह गरेका हुन्। उनले पार्टीभित्रको मतभेद समाधानका लागि उपयुक्त विकल्प खोजेर सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

शनिबार जारी विज्ञप्तिमा मल्लले भनेका छन्, ‘पार्टी विभाजन रोक्न उपयुक्त विकल्पको खोजी गर्दै अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आग्रह गर्दै यथास्थितिमा भइरहेको जिल्ला अधिवेशनका प्रक्रिया अविलम्ब स्थगन गरी पार्टी एकताका लागि पहल गर्न आग्रह गर्दछु।’

उनले सहमति र एकताको प्रयास नगरी अधिवेशनलाई केवल औपचारिकताका रूपमा अघि बढाउँदा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

‘अन्यथा कर्मकाण्डी किसिमले सम्पन्न गरिने अधिवेशनबाट आउनसक्ने दुष्परिणामको जिम्मा नेपाली कांग्रेसको सिंगो नेतृत्वले लिनुपर्नेछ,’ मल्लले विज्ञप्तिमा उल्लेख गरेका छन्।

मल्लले २०७८ सालमा पार्टी विधि र प्रक्रियाविपरीत अधिवेशन भएको भन्दै आफूले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म संघर्ष गरेको स्मरण गरेका छन्। अहिले पनि पार्टीभित्रको विवाद समाधान नगरी यथास्थितिमा अधिवेशन अघि बढाइए आफू त्यसमा सहभागी नहुने उनले स्पष्ट पारेका छन्।

‘पार्टी सत्ताको चरम दुरुपयोग गरेर यथास्थितिमा सम्पन्न गरिने अधिवेशनबाट पार्टी विखण्डनतर्फ जाने देखिएकाले यस किसिमको अधिवेशनमा आफू सहभागी नहुने अवगत गराउँछु,’ उनले भनेका छन्।

पूर्वप्रदेशसभा सदस्यसमेत रहेका मल्लले कांग्रेसका नेता–कार्यकर्तालाई कुनै समूह वा गुटभन्दा माथि उठेर पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।

दुई धारमा महाधिवेशन प्रक्रिया

मल्लको यस्तो आग्रह कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु भइरहेका बेला आएको हो। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई स्वीकार गरेको छैन। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म छुट्टै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

यसरी एउटै पार्टीको १५औँ महाधिवेशनका लागि दुई फरक कार्यतालिका अघि बढेपछि कांग्रेसभित्रको विवाद थप जटिल बनेको छ। देउवाले संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिलसमेत गरिसकेका छन् भने थापाले निर्धारित अधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

यद्यपि, देउवा पक्षमा रहेका सबै नेता समानान्तर महाधिवेशनको पक्षमा नरहेको देखिएको छ। पूर्णबहादुर खड्कानिकट नेताहरू संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुने भएका छन् भने शेखर कोइराला तटस्थ रहने अवस्थामा पुगेका छन्। यसले कांग्रेसभित्रको शक्ति समीकरणलाई थप जटिल बनाएको छ।

यसैबीच सभापति थापाले वडा तहबाटै कांग्रेसको लोकतान्त्रिक अभ्यास सुरु भएको बताउँदै अधिवेशन प्रक्रियामा सहभागी हुन पार्टीपंक्तिलाई आह्वान गरेका छन्। थापाले पार्टीभित्रका फरक मत र असमझदारीलाई संवाद, सहमति र विधिमार्फत समाधान गर्दै अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

कांग्रेसभित्र एकातिर निर्धारित कार्यतालिकाअनुसार अधिवेशन अघि बढिरहेको र अर्कोतर्फ देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा रहेका बेला मल्लको अधिवेशन स्थगन गरी एकताको पहल गर्नुपर्ने आग्रहले पार्टीभित्र सहमतिको दबाबलाई थप स्पष्ट बनाएको छ।