September 19, 2026, Saturday
२०८३ आश्विन ३

शिक्षिका पशुपति बम मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि थुनामा

कञ्चनपुर । बेलौरीमा मृत अवस्थामा भेटिएकी शिक्षिका पशुपति बम जोशीको मृत्यु प्रकरणमा उनका श्रीमान् हेमराज जोशीलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीका अनुसार न्यायाधीश महेन्द्रबहादुर थापाको शुक्रबारको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतले मृतककी सासु पदमकला जैसी र ससुरा महारुद्र जैसीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।

प्रहरी निरीक्षक चौधरीका अनुसार प्रहरीले अनुसन्धान पूरा गरी मुद्दाको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकेको थियो। सरकारी वकिलमार्फत दायर मुद्दामाथि सुनुवाइ गर्दै अदालतले मृतकका श्रीमान्लाई थुनामा राख्ने आदेश दिएको हो।

मृतक बमलाई घरपरिवारबाट शारीरिक तथा मानसिक यातना दिइएको र त्यही कारण आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै माइती पक्षले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दायर गरेका थिए। मुद्दामा मृतकका श्रीमान्सहित सासु–ससुरालाई प्रतिवादी बनाइएको थियो।

डोटीको बोगटान फुड्सिल गाउँपालिकास्थित एक विद्यालयमा शिक्षिका रहेकी बमका श्रीमान् हेमराज जोशी बागलुङस्थित एक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन्। उनीहरूका दुई सन्तान छन्। धनगढी माइतीघर भएकी बमको करिब १६ वर्षअघि जोशीसँग मागी विवाह भएको थियो।

माइती पक्षले विवाहपछि जातीय विषयलाई लिएर बममाथि मानसिक तथा शारीरिक यातना हुने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सासु पदमकला जैसीले ‘ब्राह्मण जातकी बुहारी’ चाहिएको भन्दै बममाथि असन्तुष्टि जनाउने गरेकी थिइन्। श्रीमान् हेमराजले समेत जात मिल्ने गरी अर्को विवाह गर्ने धम्की दिँदै मानसिक यातना दिने गरेको माइती पक्षको दाबी छ।

श्रीमान्सँग एक महिना सँगै बस्ने भन्दै बम गत साउन १६ गते बागलुङ गएकी थिइन्। तर, साउन २४ गते धनगढीस्थित माइतीघर फर्किएकी उनी साउन २७ गते माइतीघरबाट बेलौरीस्थित आफ्नो घर गएकी थिइन्। त्यसको भोलिपल्ट अर्थात् साउन २८ गते उनी घरमा मृत अवस्थामा फेला परेकी थिइन्।