एमाले फुट्ने हल्लाप्रति ओलीको आक्रोश : ‘खुट्टा तान्दै गर, एमाले आफ्नै बाटो हिँड्छ’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्ने, नेतृत्व परिवर्तन हुने र नयाँ अध्यक्ष–महासचिव चयन भइसकेको भन्दै भइरहेका प्रचारलाई अस्वीकार गर्दै पार्टीभित्र र बाहिरबाट आफूविरुद्ध भइरहेको दबाबको प्रतिआक्रमणमा उत्रिएका छन्।
संविधान दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा ओलीले पार्टी कमजोर पार्ने प्रयास भए पनि एमाले आफ्नो बाटोबाट विचलित नहुने दाबी गर्दै नेतृत्व परिवर्तनको चर्चालाई चुनौती दिएका हुन्।
पार्टी फुटाउन कागज तयार भइसकेको, नयाँ नेतृत्व तय भइसकेको तथा आफू राजनीतिक रूपमा निराश भएको जस्ता समाचारप्रति आक्रोश व्यक्त गर्दै ओलीले यस्ता प्रचारलाई ‘सतप्रतिशतभन्दा बढी झुट’को संज्ञा दिए। पार्टीको नाम र चुनाव चिह्नसमेत गुम्ने अवस्थामा पुगेको भन्दै आफू रोइरहेको जस्ता समाचार प्रकाशित भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यममाथि व्यंग्यसमेत गरे।
पार्टीभित्र नेतृत्व पुनर्गठन र आगामी राजनीतिक दिशाबारे बहस चर्किरहेका बेला ओलीले भने आफ्नो नेतृत्वमाथि तत्काल कुनै असर नपर्ने सन्देश दिएका छन्। एमालेभित्र नेतृत्व र संगठनसम्बन्धी बहस चलिरहेको पृष्ठभूमिमा ओलीले आगामी केन्द्रीय कमिटी बैठकलाई पार्टी एकता र आगामी कार्यदिशा स्पष्ट गर्ने अवसरका रूपमा प्रस्तुत गरे। पछिल्लो समय एमालेभित्र नेतृत्व पुनर्गठनसम्बन्धी बहस सार्वजनिक रूपमा समेत चर्चामा आएको थियो।
कुन्ती मोक्तानको ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’ भन्ने गीतको प्रसंग निकाल्दै ओलीले पार्टीमाथि भइरहेको आलोचना र दबाबलाई बेवास्ता गर्ने संकेत गरे। ‘एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन,’ उनले भने। ओलीले नेता–कार्यकर्तालाई मनोबल बलियो बनाउन आग्रह गर्दै एमाले ‘प्रतिक्रियावादी’ शक्तिसँग पञ्जा लडाउन तयार रहेकोसमेत बताएका छन्।
आफ्नो लामो राजनीतिक यात्राको प्रसंग निकाल्दै ओलीले आफू चुनौतीबाट विचलित हुने अवस्थामा नरहेको सन्देश दिए। महाभारतको भीष्म पितामहको प्रसंग जोड्दै उनले आफू अझै राजनीतिक मैदानमा रहेको बताए। ‘केपी ओली सरसैयामाथि ढलेको छैन, खडा छ, फेरि मैदानमा छ,’ उनले भने। ७४ वर्षको उमेरमा अमरसिंह थापा युद्धको मैदानमा रहेको उदाहरण दिँदै आफूले तरबार नभई कलम बोकेर राजनीतिक संघर्ष गरिरहेको उनको भनाइ थियो।
ओलीको सम्बोधन पार्टीभित्रको नेतृत्व विवादमा मात्र सीमित रहेन। उनले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र त्यसपछिको राजनीतिक परिवर्तनबारे पनि तत्कालीन सरकारमाथि उठेका प्रश्नको प्रतिवाद गरे। आफू प्रधानमन्त्री हुँदा आन्दोलनकारीमाथि दमन नगर्न र गोली नचलाउन निर्देशन दिएको दाबी गर्दै उनले त्यसपछि भएको घटनाको जिम्मेवारी आफूहरूमाथि मात्र थोपर्न खोजिएको आरोप लगाए।
‘गोली हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो। प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ,’ ओलीले भने, ‘तर दमन भयो किनरु’ तर जेनजी आन्दोलनमाथि भएको बल प्रयोगबारे गठित जाँचबुझ आयोगले तत्कालीन सुरक्षा व्यवस्थापन र बल प्रयोगसम्बन्धी विषयमा गम्भीर प्रश्न उठाउँदै कारबाहीका लागि समेत सिफारिस गरेको विवरण सार्वजनिक भइसकेको छ।
ओलीले भदौ २३ गतेको घटनालाई योजनाबद्ध रूपमा गराइएको र त्यसलाई निहुँ बनाएर भोलिपल्ट लुटपाट, हिंसा तथा आगजनी फैलाइएको दाबी गरे। सिंहदरबार, संसद् भवन र नेताहरूका घरमा आगजनी तथा तोडफोड तत्कालीन आवेगको परिणाम नभई अघिदेखिकै षड्यन्त्र भएको उनको जिकिर थियो। आन्दोलनमा घुसपैठ गराएर देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएको उनको आरोप छ। आन्दोलनका क्रममा घुसपैठ भएको दाबी जेनजी पक्षबाट पनि त्यसबेला सार्वजनिक भएको थियो, यद्यपि घटनाको जिम्मेवारी र योजनाबारे विभिन्न पक्षका दाबी फरक छन्।
ओलीले संविधान, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा एमालेको प्रमुख कार्यभार भएको भन्दै नेता–कार्यकर्तालाई जनतामाझ पुगेर पार्टीको धारणा स्पष्ट पार्न निर्देशन दिए। यससँगै उनले संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
पार्टीभित्र नेतृत्वसम्बन्धी बहस, बाहिरबाट भइरहेको आलोचना र जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचनाबीच ओलीको पछिल्लो सम्बोधनलाई एमालेको नेतृत्वमाथि उठिरहेका प्रश्नको प्रत्यक्ष राजनीतिक जवाफका रूपमा हेरिएको छ। तर ओलीले भने आफ्नो नेतृत्व र पार्टीको राजनीतिक यात्रालाई कुनै प्रचार वा दबाबले रोक्न नसक्ने सन्देश दिँदै ‘एमाले आफ्नै बाटो’मा अघि बढ्ने बताएका छन्।



प्रतिकृया दिनुहोस्