२०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज, नेपालका १३५ खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भव्य समारोहबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिनेछ।
एसियाली मुलुकका खेलाडीहरूको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगिताका रूपमा रहेको एसियन गेम्समा यसपटक पनि विभिन्न खेलका शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। औपचारिक उद्घाटन समारोह आज आयोजना भए पनि प्रतियोगिताअन्तर्गतका केही खेलका प्रतिस्पर्धा भने यसअघि नै सुरु भइसकेका छन्।
जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्। विभिन्न खेलका प्रतियोगिताका लागि फरक–फरक स्थानमा खेलस्थल निर्धारण गरिएको छ।
जापानले तेस्रोपटक एसियन गेम्स आयोजना गरेको हो। यसअघि जापानले सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एसियन गेम्स आयोजना गरेको थियो। ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा एसियाली खेलकुदको दायरासँगै नयाँ पुस्ताका खेललाई समेत समेटिएको छ।
यस संस्करणमा ४३ खेलका ७१ विधामा कुल ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा एसियाका विभिन्न देश तथा क्षेत्रबाट करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन्।
यसपटक एसियन गेम्समा केही नयाँ खेललाई समेत समावेश गरिएको छ। मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबल पहिलोपटक प्रतियोगिताको हिस्सा बनेका छन्। यसका साथै ई–स्पोर्ट्स र ब्रेकिङले पनि एसियन गेम्समा स्थान पाएका छन्।
प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियल टोलीका लागि जापानले होटलसँगै क्रुजमा समेत आवासको व्यवस्था गरेको छ। विभिन्न खेलका प्रतियोगिता फरक–फरक सहरमा सञ्चालन भइरहेकाले खेलाडी र टोलीको आवतजावत तथा व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिइएको छ।
२१ खेलमा नेपालको सहभागिता
२०औँ एसियन गेम्समा नेपालले २१ खेलमा सहभागिता जनाउँदैछ। नेपालबाट कुल १३५ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्।
खेलाडीबाहेक नेपाली टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक सहभागी छन्। विभिन्न खेलमा रहेका खेलाडीले आफ्नो विधाअनुसार प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४ र करातेमा ८ खेलाडी सहभागी छन्।
त्यस्तै, र्याफ्टिङ एन्ड क्यानोइङमा २, स्केट एन्ड स्केट बोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वासमा २, पौडीमा ५, टेबलटेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन्।
नेपालले एसियन गेम्समा विभिन्न खेलमार्फत पदकको प्रयास गर्नेछ। विशेषगरी क्रिकेट, कराते, तेक्वान्दो, कबड्डी, बक्सिङलगायतका खेलमा नेपाली खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी प्रत्येक खेलका खेलाडीले आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पदक संख्या बढाउने लक्ष्य राखेका छन्।
महिला भलिबलको यात्रा टुंगियो
एसियन गेम्समा सहभागी नेपाली महिला भलिबल टोली भने पदकको दौडबाट बाहिरिसकेको छ। प्रतियोगिताको प्रारम्भिक चरणमै पराजय बेहोरेपछि महिला भलिबल टोलीको पदक यात्रामा पूर्णविराम लागेको हो।
नेपालका अन्य खेलका प्रतिस्पर्धा भने जारी छन्। विभिन्न खेलका खेलाडीले आफ्नो निर्धारित तालिकाअनुसार प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन समारोहसँगै एसियन गेम्सको मुख्य चरण थप औपचारिक रूपमा अघि बढ्नेछ।
एसियन गेम्सलाई नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यस प्रतियोगितामा नेपाली खेलाडीले एसियाका बलिया खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो स्तर परीक्षण गर्ने अवसरसमेत पाउनेछन्।



प्रतिकृया दिनुहोस्