संविधान जोगाउनु सबैको दायित्व हो : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले महिला, दलित, मधेसीलगायत पछाडि पारिएका समुदायलाई अधिकार सम्पन्न बनाउनुका साथै सेती, महाकाली र कर्णालीको भूगोल तथा पहिचानलाई राज्यको मूलधारमा स्थापित गरेको बताएका छन्।
संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले संविधान जोगाउनु सबैको साझा दायित्व भएको बताए।
मुख्यमन्त्री भट्टले परम्परागत राज्यसत्ताबाट उत्पीडित समुदायलाई अधिकार दिने र विभेदकारी राज्य संरचनाबाट उपेक्षामा परेको भूगोलको पहिचान स्थापित गर्ने काम संविधानले गरेको दाबी गरे।
‘सेती, महाकाली र कर्णालीलाई पाखे भनेर हेप्ने, विभेद गर्ने र कहिल्यै पनि नेपालको अभिन्न अंग नसम्झने विभेदकारी राज्यको नजरबाट यो पनि नेपालको सम्मानित अंग हो भनेर हाम्रो पहिचानलाई संस्थागत गरेको छ,’ उनले भने, ‘सबै भाषाभाषी, धर्म र संस्कृतिलाई एउटै मालामा उन्ने सप्तरंगी राष्ट्रियताको संरक्षण गर्ने संविधान हामीले पाएका छौँ। त्यसैले संविधान जोगाउन जरुरी छ।’
संविधान निर्माणको लामो संघर्ष र त्यसको महत्व नबुझेर कतिपय पक्षले कार्यान्वयनको सुरुआती चरणमै संविधानलाई कमजोर बनाउने प्रयास गरिरहेको उनले बताए। सबै राजनीतिक धाराको पहिचान प्रतिबिम्बित गर्ने भएकाले संविधानलाई उत्कृष्ट दस्तावेजका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
राजा–महाराजाको हुकुम–प्रमाङ्गीबाट नभई नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधान अधिकार, अन्तरवस्तु, निर्माण प्रक्रिया, संवाद र सहकार्यका दृष्टिले युगान्तकारी दस्तावेज भएको भट्टले बताए।
‘मन्त्रीका कर्महरू, मुख्यमन्त्रीका कर्महरू, प्रधानमन्त्रीका कर्महरू, सांसदका कर्महरू, शासक–प्रशासकका कर्महरूले यो संविधानको गरिमाको ओज नगिरोस्,’ उनले भने, ‘हामी सबैले आजको दिनमा यो संकल्प गरौँ।’
कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संविधान जारी भएपछि मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गरेर जनतालाई भड्काउने काम भइरहेको बताए। संविधानले सुनिश्चित गरेका अधिकारलाई संस्थागत गर्दै अब अवसरको यात्रा अघि बढाउनुपर्ने उनको भनाइ थियो।



प्रतिकृया दिनुहोस्