संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वर्तमान संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि त्यसलाई कार्यान्वयन गर्ने पक्ष इमानदार र निरन्तर क्रियाशील हुनुपर्ने बताए।
‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने।
संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र अनवरत रूपमा क्रियाशील नभए त्यो कागजमा मात्र सीमित हुने उनको भनाइ थियो।
‘एउटा कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ,’ उनले भने।
प्रधानमन्त्री शाहले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दाबी गरे। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्धको अभियानलाई सरकारले निरन्तरता दिने उनले बताए।
‘म प्रस्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ उनले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए।
संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ। दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।
संघीय राजधानी काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका थिए।
संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री शाहलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन्।



प्रतिकृया दिनुहोस्