September 24, 2026, Thursday
२०८३ आश्विन ८

बैतडी कांग्रेस अधिवेशन : १० वटै पालिकामा नेतृत्व निर्विरोध

बैतडी । नेपाली कांग्रेस बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ। सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिएका हुन।

उनका अनुसार चार पालिकाको अधिवेशन मंगलबार र बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो। अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ।

पालिकागत रूपमा दशरथचन्द नगरपालिकामा कर्णबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट र पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद नेतृत्वमा चयन भएका छन्।

त्यस्तै, पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द, दोगडाकेदार गाउँपालिकामा डम्बर सिंह कार्की, शिवनाथ गाउँपालिकामा महामल सिंह साउद, सुर्नया गाउँपालिकामा उत्तमबहादुर चन्द र सिगास गाउँपालिकामा दीपकसिंह धामी सभापति चयन भएका छन्।

डिलासैनी गाउँपालिकामा देवराज जोशी नेतृत्वमा चयन भएका छन्। यससँगै बैतडीका सबै १० स्थानीय तहमा कांग्रेसको पालिका अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न भएको हो।

कांग्रेसको वडा अधिवेशनमा पनि समावेशी सहभागिता देखिएको सभापति चन्दले बताए। जिल्लाका ८४ वडामध्ये पाँच वडामा दलित समुदायबाट सभापति चयन भएका छन् भने दुई वडामा महिला सभापति निर्वाचित भएका छन्।