November 6, 2026, Friday
२०८३ कार्तिक २१

सिमचौर बन्यो बोगटान फुड्सिल गाउँपालिकास्तरीय पुरुष भलिबल च्याम्पियन

डोटी । बोगटान फुड्सिल गाउँपालिकास्तरीय आठौँ संस्करणको पुरुष भलिबल रनिङशिल्ड प्रतियोगिताको उपाधि वडा नं. १ सिमचौरले जितेको छ। फाइनलमा वडा नं. ७ चवँराचौतारालाई पराजित गर्दै सिमचौर च्याम्पियन बनेको हो।

‘खेलकुद जीवन–अनुशासनको पहिचान, कुलत र कुसंस्कारविरुद्धको अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिका वडा नं. ७ को आयोजनामा कात्तिक १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका टोली सहभागी थिए।

फाइनलमा वडा नं. १ सिमचौरले वडा नं. ७ चवँराचौतारालाई पराजित गर्दै प्रथम स्थान हासिल गर्दा चवँराचौतारा दोस्रो र वडा नं. २ केदारअखडा तेस्रो भए।

उपाधिसँगै सिमचौरले ७५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको चवँराचौताराले ५० हजार रुपैयाँ तथा तेस्रो भएको केदारअखडाले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा वडा नं. १ का दिनेश सिंह ठकुरी सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यस्तै, वडा नं. ७ का निर्मल नेपाली उत्कृष्ट स्पाइकर, वडा नं. १ का भीम खड्का उत्कृष्ट लिब्रो, वडा नं. ७ का लोकेन्द्र गड्शिला उत्कृष्ट ब्लकर, वडा नं. १ का लक्ष्य धामी उत्कृष्ट सेटर, वडा नं. २ का हिक्मत बम ठकुरी उत्कृष्ट सर्भर तथा वडा नं. ७ का खेम कुड्माल उदयमान खेलाडी घोषित भए। उनीहरूले जनही २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिता सम्पन्न भएपछि आयोजक वडा नं. ७ का अध्यक्ष शंकरमान सुनारले सहभागी सातवटै वडा, खेलाडी, प्रशिक्षक, समर्थक तथा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

अध्यक्ष सुनारले प्रतियोगिता सञ्चालनमा खटिएका युवा, खेल समिति, राष्ट्रिय खेलाडी तथा रेफ्री जनक खड्का र रमेश बम, सुरक्षाकर्मी, स्वयंसेवक, स्कोरबोर्ड तथा लाइनम्यानलगायतलाई धन्यवाद दिए।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कलम गड्सिलाले प्रतियोगिताले गाउँपालिकामा खेलकुदको विकाससँगै युवामा अनुशासन, आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याएको बताए। प्रतियोगिताले कुलत तथा कुसंस्कारविरुद्ध सकारात्मक सन्देशसमेत प्रवाह गरेको उनको भनाइ थियो।

फाइनलमा पराजित टोलीलाई निराश नहुन आग्रह गर्दै अध्यक्ष गड्सिलाले खेलमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताए। प्रतियोगिताले गाउँपालिकाका युवालाई खेलकुदतर्फ आकर्षित गर्न र सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने उनको भनाइ छ।