सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो।
सुदूरपश्चिमले आक्रामक सुरुआत गर्दै पावरप्लेमा कुनै विकेट नगुमाई ६३ रन जोडेको थियो। विनोद भण्डारी र सैफ जइबले पहिलो विकेटका लागि राम्रो साझेदारी गरे। भण्डारी २७ रनमा रनआउट भए भने जइब ३५ रनमा सूर्य तामाङको बलमा आउट भए।
दुवै ओपनर आउट भएपछि सुदूरपश्चिमको रनगति केही सुस्त भयो। कप्तान दीपेन्द्रसिंह ऐरी पनि रनआउट भए। १४ बल खेलेका ऐरीले १० रन बनाए। उनी आउट हुँदा ११.४ ओभरमा सुदूरपश्चिमले ९५ रन बनाएको थियो।
ब्रेनडन म्याकमुलनले १६ बलमा २४ रन तथा ईशान पाण्डेले २३ रन बनाए। पाण्डेले १५औँ ओभरमा जीवनदान पाए पनि त्यसको केही समयपछि डेभिड मिलरकै हातबाट क्याच आउट भए।
अन्त्यतिर थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमको स्कोर उकासे। उनी २२ रनमा अविजित रहे। स्कट कुगलाइनले पनि नटआउट १३ रन बनाए।
कर्णालीका मार्क वाटले दुई विकेट लिए। नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले एक–एक विकेट लिए।
अब कर्णाली याक्सले जितका लागि १७७ रन बनाउनुपर्नेछ।



प्रतिकृया दिनुहोस्