डेभिड मिलरको डेब्युमा ९३ रन, तर सुदूरपश्चिमसँग कर्णाली पराजित

काठमाडौं । दक्षिण अफ्रिकी आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल)मा डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि कर्णाली याक्सलाई जित दिलाउन सकेनन्। शुक्रबार भएको खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भयो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित अविजित ९३ रन बनाए। उनले एक छेउ सम्हालेर आक्रामक ब्याटिङ गरे पनि अर्को छेउबाट अपेक्षित साथ पाउन सकेनन्। विकेटकिपर दीपक डुम्रेले १२ बलमा ३ चौका र १ छक्कासहित १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीको पारी रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए। हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले २४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए। विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे। जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए।
विनोद आठौँ ओभरमा र जैब नवौँ ओभरमा आउट भएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमाएको थियो। ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन तथा इशान पाण्डेले १३ बलमा ३ छक्कासहित २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १० र आरिफ शेखले ११ रन जोडे।
अन्तिमतिर थरिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र १ छक्कासहित अविजित २२ रन बनाए। स्कट कुगेलेइन ६ बलमा २ चौकासहित अविजित १३ रनमा रहे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन थपेको थियो।
कर्णालीका मार्क वाटले २ विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले १–१ विकेट लिए।
यो जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट ६ अंक जोडेको छ। ऊ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो। कर्णाली ४ अंकसहित पाँचौँ स्थानमा झरेको छ।





प्रतिकृया दिनुहोस्