November 6, 2026, Friday
२०८३ कार्तिक २१

रवि लामिछानेको चेतावनी- ‘जनमतको दुरुपयोग नगर्नु, पार्टीले नियालिरहेको छ’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमतलाई शक्ति र सत्ताको दुरुपयोग गर्ने माध्यम नबनाउन नेता–कार्यकर्तालाई चेतावनी दिएका छन्।

शुक्रबार चितवनमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा लामिछानेले प्रहरी, प्रशासन वा राज्य संयन्त्रमाथि राजनीतिक दबाब सिर्जना गर्ने काम नगर्न आग्रह गरे। ठूलो जनमत पाएपछि पार्टीभित्रै घमन्ड र सत्ताको दम्भ देखिन थालेको भन्दै उनले आत्मसमीक्षा गर्नुपर्ने बताए।

‘जनताले हामीलाई १८२ सिट दिएर पठाएका छन्। हामी मात्तिएका छौँ। कसैलाई नगन्ने गरी घमन्ड देखाउन थालेका छौँ। हामीले भुईँ टेक्नुपर्छ, भुईँ छोड्न हुँदैन,’ उनले भने, ‘जनताले दिएको अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। हामीलाई हेरिरहेका छन्।’

लामिछानेले विगतमा पार्टी र समर्थकमाथि भएको भनिएको राजनीतिक तथा प्रशासनिक दबाबको बदला सत्तामा पुगेपछि लिन खोज्नु गलत हुने बताए। ‘घण्टीको मान्छे हुँ’ भन्दै प्रहरी र प्रशासनलाई राजनीतिक दबाब दिने प्रवृत्तिले पार्टीलाई अघि नलैजाने उनको भनाइ थियो।

‘हिजो कोही नहुँदा एक्लै घण्टी बोकेर हिँदा हामीमाथि कति धेरै अपमान भएको थियो। हाम्रा साथीहरूलाई कयौँ मुद्दा लगाइएका छन्, सिफारिस पाएका छैनन्। व्यापार–व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने, मुद्दा लगाइदिने, अनुगमनका नाममा दुःख दिने काम भएको छ,’ उनले भने, ‘तर त्यसको बदला लिन आज घण्टीको मान्छे हुँ भन्दै प्रशासन, प्रहरीलाई राजनीतिक दबाब दिने काम नगर्नुहोस्।’

उनले शक्ति जति बढ्दै जान्छ, त्यति नै जिम्मेवारीबोध बढ्नुपर्ने बताए। जनताले दिएको मत आफूहरूलाई ‘ठालु पल्टन’का लागि नभएको उनको भनाइ थियो।

‘जब तपाईंलाई सर्वाधिक शक्ति मिल्छ, त्यतिबेला नै सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप गर्न जरुरी हुन्छ। इतिहासले त्यो माग्छ,’ उनले भने।

लामिछानेले पार्टीको तल्लो तहको संगठन र जनतासँगको सम्बन्धभन्दा तत्कालै माथिल्लो पद र शक्तितर्फ आकर्षित हुने प्रवृत्तिमाथि पनि कटाक्ष गरे।

‘अहिले वडाध्यक्ष हुन कसैलाई पनि मन छैन। तलतिर ध्यान गएको छैन, एकै पटक माथि जानुपरेको छ। हामीले देखाउन त देखायौँ, छर्लङ्ग देखिने गरी देखाएका छौँ,’ उनले भने।

आईजीपी हेरफेरको औचित्य व्यवहारबाट देखाउनुपर्ने

लामिछानेले सरकारले गरेको प्रहरी महानिरीक्षक (आईजीपी) हेरफेरको औचित्य आगामी व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका छन्।

उनले आईजीपी परिवर्तन गर्नुको कारण सरकारले वक्तव्यबाट नभई त्यसपछिका कामकारबाहीबाट प्रमाणित गर्नुपर्ने बताए।

‘आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने सरकारले औचित्य प्रमाणित गर्छ। प्रधानमन्त्रीले आएर स्टेटमेन्ट दिनुहुन्छ होइन नि। किन गर्नुपरेको रहेछ भन्ने त व्यवहारले देखाउँछ नि भोलि,’ उनले भने।

प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्धमा कुनै फाटो नरहेको दाबी गर्दै लामिछानेले आफू र प्रधानमन्त्रीको तस्बिर सामाजिक सञ्जालमा राखेर सम्बन्धबारे निष्कर्ष निकाल्न नहुने बताए।

‘कसैले बालेनजीको यतापट्टी मेरो फोटो हालेर पत्याउँछु र? यसको अर्थ त्यो होइन, हामी कुनै षड्यन्त्रमा छौँ। त्यो होइन,’ उनले भने।