पत्रकार नियन्त्रणको आलोचनाबीच सरकारको स्पष्टीकरण- ‘प्रेस स्वतन्त्रताको पक्षमा छौँ’

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्याल र प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला कामकारबाही, निर्णय, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयमा जानकारी गराएका हुन्।
ब्रिफिङमा प्रधानमन्त्रीकी प्रेस विज्ञ दाहालले सञ्चारमाध्यमले उठाएका सवालप्रति सरकार सजग रहेको बताउँदै नागरिकसम्म सरकारका काम पुर्याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्।
“हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ, यो हाम्रो संवैधानिक व्यवस्था पनि हो। मिडियाले उठाएका हरेक सवालप्रति सरकार सजग छ,” उनले भनिन्, “नागरिकसम्म सरकारका काम पुर्याउन सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका छ र हामी सबैको साझा प्रयासबाट मात्र परिवर्तन सम्भव छ।”
प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारगृहमा पुगेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाको आलोचना भइरहेका बेला सरकारको यस्तो धारणा आएको हो। घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रवक्ता अर्यालका अनुसार आगामी मङ्सिरमा हुने प्रस्तावित भ्रमणका लागि आवश्यक तयारी अघि बढिरहेको छ।
प्रधानमन्त्री शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने प्रस्ताव रहे पनि मिति भने अन्तिम रूपमा निश्चित भइनसकेको अर्यालले बताए। भ्रमणका क्रममा उठाइने विषय र एजेन्डाबारे परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतमा भारतले ‘फस्ट रेस्पोन्डर’का रूपमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेको पनि अर्यालले जानकारी दिए।



प्रतिकृया दिनुहोस्