November 8, 2026, Sunday
२०८३ कार्तिक २३

यमपञ्चकको दोस्रो दिन : आज कुकुर तिहारसँगै साँझ लक्ष्मीपूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरलाई फूलको माला लगाइदिएर पूजा आराधना गर्नुका साथै मीठामीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा छ।

यमपञ्चक अर्थात् दीपावलीको दोस्रो दिन कुकुर तिहार मनाउने प्रचलन रहे पनि यस वर्ष तिथिको घटबढका कारण तिहारको तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने धार्मिक मान्यता छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाएर पूजा गरे यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरले यमलोकको यात्रामा बाटो छोडिदिने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

धार्मिक मान्यताअनुसार वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रासमेत साथ दिएको विश्वास गरिन्छ। कुकुरलाई आज्ञापालक तथा घरको सुरक्षामा भरपर्दो जनावरका रूपमा समेत लिइन्छ।

नरक चतुर्दशीको धार्मिक विधि

आजै नरक चतुर्दशी पनि मनाइँदैछ। धार्मिक मान्यताअनुसार नरक चतुर्दशीका दिन अरुणोदयकालमा तीर्थस्थल, नदी वा तलाउमा गई स्नान तथा तर्पण गर्ने र यमदीप दक्षिण फर्काएर बगाउने चलन छ।

यसरी यमदीप बगाउँदा मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताए। यमदीप बालेर बगाउने विधिलाई ‘नरके बगाउने’ भनिन्छ।

यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा पनि छ। आयुर्वेदिक दृष्टिले तिलको तेलले शरीरलाई स्वस्थ राख्न सहयोग गर्ने मान्यता रहेकाले तिहारलाई धार्मिकसँगै स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ।