November 7, 2026, Saturday
२०८३ कार्तिक २२

बडीकेदार धामको धार्मिक मेलामा भारतीय श्रद्धालुलाई निमन्त्रणा

लखिमपुर खिरी (भारत) । डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धाममा आगामी मंसिर ५ देखि ७ गतेसम्म आयोजना हुने धार्मिक मेला (जाँत) मा भारतीय श्रद्धालुको सहभागिता बढाउने उद्देश्यले भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाको पलियामा पत्रकार सम्मेलन गरिएको छ।

बडीकेदार पर्यटन विकास तथा व्यवस्थापन समिति डोटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बडीकेदार धामको धार्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि, मेलाको तयारी तथा भारतीय धार्मिक पर्यटकको सहभागिताबारे जानकारी गराइएको थियो।

समितिका अध्यक्ष उपेन्द्र बमले बडीकेदार धाम नेपाल र भारतका श्रद्धालुको साझा आस्थाको केन्द्र रहेको बताए। धामको धार्मिक तथा सांस्कृतिक महत्वबारे भारतीय धार्मिक पर्यटकमाझ प्रचारप्रसार गर्दै मेलामा उनीहरूको उल्लेख्य सहभागिता गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको उनको भनाइ थियो।

डोटीको बडीकेदार धामलाई भगवान् शिवको पवित्र निवासस्थलका रूपमा लिइन्छ। ठूलाकेदार तथा बड्डाकेदारका नामले समेत परिचित यो धाम धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक परम्पराको संगमका रूपमा रहेको छ।

हरेक वर्ष आयोजना हुने बडीकेदार मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेशबाट समेत श्रद्धालु सहभागी हुँदै आएका छन्। यस वर्ष भारतीय धार्मिक पर्यटकको सहभागिता थप बढाउने लक्ष्यसहित भारतका विभिन्न क्षेत्रमा प्रचारप्रसार तथा निमन्त्रणालाई प्राथमिकता दिइएको समितिका कार्यकारी निर्देशक गणेश जोशीले बताए।

अध्यक्ष बमका अनुसार भारतीय सञ्चारमाध्यमका प्रतिनिधि तथा स्थानीय धार्मिक अगुवामार्फत बडीकेदार धामको धार्मिक महत्व र मेलाबारे प्रचारप्रसार गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको हो।

मेलामा भारतीय श्रद्धालुको सहभागिता बढाएर नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने समितिको अपेक्षा छ।