तिहारमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी, २४ घण्टा टोली परिचालन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको छ। पर्वका समयमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीको निगरानी बढाउनुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिको विद्युत् आपूर्ति व्यवस्थापनबारे समीक्षा गर्दै सम्भावित समस्या तत्काल समाधान गर्ने गरी आवश्यक तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।
प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् प्रणालीको निगरानी, जनशक्ति परिचालन र आपूर्ति व्यवस्थापनबारेसमेत समन्वय गरिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न तथा विद्युत् आपूर्तिमा अवरोध आए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
त्यसैगरी, विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ।
लक्ष्मीपूजामा १ हजार ७०० मेगावाट मागको अनुमान
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। उक्त माग धान्न आन्तरिक उत्पादन पर्याप्त हुने प्राधिकरणको भनाइ छ।
लक्ष्मीपूजाका दिन विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले पर्वका समयमा विद्युत् आपूर्ति सहज रहने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रले नियमित अनुगमन गर्नेछन्। प्रणालीमा देखिन सक्ने समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तिहार तथा छठमा विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ। विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस्