November 7, 2026, Saturday
२०८३ कार्तिक २२

चितवनसँग पनि हार्‍यो पोखरा, लगातार चौथो पराजय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको खराब प्रदर्शनले निरन्तरता पाएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजसँग ३० रनले पराजित भएसँगै पोखराले लगातार चौथो हार बेहोरेको हो।

चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो। चार खेलमा चारै हारसँगै पोखरा अंकविहीन रहँदै अंकतालिकाको पुछारमा छ। चितवनले भने दोस्रो जित निकाल्दै ५ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। युवराज साम्राले १९, किरण ठगुन्नाले १३ तथा अर्जुन घर्तीमगरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चितवनका रिजन ढकालले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। कमलसिंह ऐरीले २ ओभरमा ७ रन दिएर ३ विकेट लिए। डान मौस्ली, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए।

सुरुवातमै पोखरालाई झट्का

१५२ रनको लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमायो। भुर्तेल ३ बलमा ४ रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भए।

त्यसपछि युवराज साम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। साम्रा १९ रनमा आउट भएपछि पोखराले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो। सदीरा समाराविक्रमा ४ रनमै आउट हुँदा पोखरा ८.२ ओभरमा ६२ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो।

कुमालले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अर्को छेउबाट पर्याप्त साथ मिलेन। उनले किरण ठगुन्नासँग पाँचौँ विकेटका लागि २५ रनको साझेदारी गरे। ठगुन्ना १३ रनमा आउट भएपछि पोखराको जितको सम्भावना कमजोर बन्यो।

कुमाल ४५ रन बनाएर १७.२ ओभरमा आउट भए। त्यसपछि पोखराले लगातार विकेट गुमायो। ११७ रनमा सात विकेट गुमाएको पोखराले थप ४ रन जोड्दा तीन विकेट गुमाएपछि १९औँ ओभरमै अलआउट भयो।

रिजन र कमलको घातक बलिङ

चितवनको जितमा रिजन ढकाल र कमलसिंह ऐरी निर्णायक बने। रिजनले चार विकेट लिँदा कमलले तीन विकेट लिए। कमलले सुरुवाती ब्याटर कुशल भुर्तेल र सुदीप अर्याललाई आउट गर्दै पोखरामाथि दबाब बढाएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। कप्तान सिकन्दर रजाले १६ बलमा ३७ रन बनाए। रवि बोपाराले २८ बलमा ३५, अर्जुन साउदले ३१ तथा डेविड मलानले २८ रन जोडे।

पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २ विकेट लिए पनि चितवनलाई १५१ रनसम्म पुग्नबाट रोक्न सकेनन्।