आज काग तिहार, यमदूतका रूपमा कागको पूजा गरिँदै

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज शनिबार देशभर मनाइँदैछ। तिहारको पहिलो दिनका रूपमा मनाइने काग तिहारमा बिहानै कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने परम्परा छ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मानिन्छ। कागले यमराजसमक्ष शुभ खबर पु¥याओस् भन्ने कामनासहित आज कागको पूजा गरी विभिन्न परिकार तथा मीठा खानेकुरा खान दिने चलन छ।
लोक व्यवहारमा पनि काग घरआँगनमा आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन छ। काग घरवरपर आएर कराएमा उसले कुनै खबर लिएर आएको विश्वास गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहँदै आएको छ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ।
तिहार पर्व दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वाससँग जोडिएको छ। यम यातनाबाट मुक्ति तथा परिवारजनको दीर्घायुको कामनासहित गरिने यमदीपदान भने शुक्रबार साँझदेखि नै सुरु भएको हो। वैदिक सनातन परम्पराअनुसार यमदीप दक्षिण फर्काएर बाल्ने विधि रहेको छ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। यही क्रममा लक्ष्मीलाई स्थिर राख्ने विश्वाससहित गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको थियो।





प्रतिकृया दिनुहोस्