काठमाडौंसँग ३६ रनले हार्यो लुम्बिनी, १० खेलको अपराजित यात्रा टुंगियो

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा १० खेलसम्म कायम रहेको अपराजित यात्रा टुंगिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लागेको हो।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो। लुम्बिनीको ब्याटिङ सुरुदेखि नै धराशायी बनेको थियो। पहिलो ६ ओभरमै उसले ६ विकेट गुमाउँदै ३४ रन मात्र बनाउन सक्यो।
डार्सी सर्ट ४, आशिफ शेख १, निरोसन डिक्वेला १४ र कप्तान रोहितकुमार पौडेल शून्य रनमा आउट भए। दिलीप नाथ र ग्रान्ट स्टेवार्ट पनि सस्तैमा पभेलियन फर्किएपछि लुम्बिनी २८ रनमा ६ विकेट गुमाएको अवस्थामा पुगेको थियो।
त्यसपछि सन्दीप जोराले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले ४५ बलमा ३ चौकासहित ४४ रन बनाए। जोराले अभिषेक गौतमसँग आठौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै लुम्बिनीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर १४.४ ओभरमा गौतम १६ रनमा आउट भएपछि लुम्बिनीमाथि दबाब फेरि बढ्यो।
१७.४ ओभरमा ९५ रन हुँदा जोरा आउट भएपछि लुम्बिनीको जितको सम्भावना लगभग समाप्त भएको थियो। शेर मल्लले १५ बलमा १२ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
काठमाडौंका लागि जहानदाद खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ विकेट लिए भने शहाब आलम, सन्तोष यादव, राशिद खान र शेहान अराचिगेले समान एक विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो। डेभिड वार्नरले ५० बलमा ९ चौका र एक छक्कासहित ६६ रन बनाए। साहिल पटेलले ३६ बलमा ३८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गर्दै काठमाडौंलाई बलियो सुरुआत दिलाएका थिए।
तर वार्नर १५.५ ओभरमा ६६ रनमा आउट भएपछि काठमाडौंको इनिङ्समा दबाब बढ्यो। त्यसपछि कप्तान करण केसी ९ र विल बोसिस्टो शून्य रनमा आउट भए। १०४ रनको साझेदारी गरेको काठमाडौंले त्यसपछि १३ रन जोड्दा तीन विकेट गुमायो।
अन्तिम पाँच ओभरमा सात विकेट गुमाउँदै ४६ रन मात्र जोडेको काठमाडौंलाई शेहान अराचिगेले आक्रामक ब्याटिङ गर्दै उकासे। उनले १५ बलमा ३४ रनको अविजित इनिङ्स खेलेपछि काठमाडौं १६० रनको योगफलसम्म पुगेको थियो।
लुम्बिनीका लागि अभिषेक गौतम, शेर मल्ल र रुबेन ट्रम्पलमेनले समान दुई विकेट लिए। तर ब्याटिङमा कमजोर प्रदर्शन गर्दा उनीहरूको बलिङ प्रयास जितका लागि पर्याप्त हुन सकेन।
यो हारसँगै लुम्बिनीको लगातार १० खेलको अपराजित यात्रा समाप्त भएको छ। अघिल्लो संस्करणको समूह चरणका अन्तिम तीन खेल जित्दै फाइनलसमेत जितेको लुम्बिनीले यस सिजनका सुरुआती चार खेलमा तीन जित निकालेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
यससँगै अघिल्लो संस्करणका तीन समूह चरणका जित, फाइनलको जित र यस सिजनका चार खेलसम्मको अपराजित यात्रासहित लगातार १० खेलमा हार नदेखेको लुम्बिनीलाई काठमाडौंले रोकेको हो।



प्रतिकृया दिनुहोस्