बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाइयो

काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै मंगलबार तीन सदस्यीय ट्रिब्युनलले उनीहरूलाई मृत्युदण्ड सुनाएको हो। अभियुक्तहरूले आन्दोलनका क्रममा हिंसा भड्काउन, त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको थियो।
मृत्युदण्ड सुनाइएकामा अवामी लिगका महासचिव ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम र मोहम्मद अली अराफात छन्। यस्तै, जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश तथा महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान रहेका छन्।
बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनका अनुसार मुद्दाको सुनुवाइ न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीको अध्यक्षतामा गठित तीन सदस्यीय आईसीटी–२० ट्रिब्युनलले गरेको हो। सातै अभियुक्त फरार रहेको र उनीहरूमाथि अनुपस्थितिमै मुद्दा चलाइएको जनाइएको छ।
अदालतले अभियुक्तहरूको प्रतिरक्षाका लागि सरकारी वकिलसमेत नियुक्त गरेको थियो। यसअघि सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित अर्को मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि मृत्युदण्ड सुनाइएको थियो।





प्रतिकृया दिनुहोस्