September 24, 2026, Thursday
२०८३ आश्विन ८

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा

धनगढी । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन भारीदेखि अतिभारी वर्षाको सम्भावना बढेपछि सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै प्रदेशका प्रशासनिक तथा सुरक्षा संयन्त्रलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया, कैलालीले बझाङ, बाजुरा, दार्चुला र अछामलाई उच्च जोखिममा राख्दै ‘अलर्ट’ जारी गरेको छ। कार्यालयका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार चुरे क्षेत्रमा समेत वर्षाको सम्भावना रहेकाले जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारी अघि बढाइएको छ। मौसम विज्ञान विभागले असोज १० गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा जोखिम अझ बढ्न सक्ने संकेत गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार सम्भावित वर्षापछि सडक अवरुद्ध भए तत्काल खुलाउन स्काभेटर तयारी अवस्थामा राखिएको छ भने करिब दुई महिनासम्मका लागि खाद्यान्नको समेत बन्दोबस्त गरिएको छ। ‘स्रोतसाधनले भ्याएसम्म आवश्यक तयारी गरेका छौँ,’ उनले भने, ‘सम्भावित जोखिमबारे नागरिक तहसम्म सूचना पुर्‍याइएको छ।’

बझाङमा पनि गृह मन्त्रालयसँग समन्वय गरी विपद् प्रतिकार्यको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। जिल्लालाई उच्च जोखिममा राखिएकाले उद्धार, राहत तथा सुरक्षा संयन्त्रलाई सोहीअनुसार तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

सुरक्षा निकायले समेत सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि परिचालन क्षमता बढाएका छन्। सशस्त्र प्रहरी बल श्री नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाका वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयका अनुसार सुदूरपश्चिममा १४ वटा अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा राखिएका छन्। सम्भावित जोखिमको अवधिमा सशस्त्र प्रहरीका कर्मचारीलाई बिदासमेत नदिने व्यवस्था गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहे पनि त्यसको प्रभावका कारण नेपालका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको जोखिम तत्कालै समाप्त नहुने देखिएको छ। वर्षासँगै नदीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र तराईका भूभागमा डुबानको जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म रातिको यात्रा नगर्न आग्रह गरिएको छ।

सुदूरपश्चिममा पनि असोज १० गते जोखिम बढ्ने पूर्वानुमान गरिएको छ। सो दिन बाजुरा, बझाङ र दार्चुलालाई उच्च जोखिमको संकेत गरिएको छ भने कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई समेत सतर्क अवस्थामा राखिएको छ।

सम्भावित प्रभावितको तत्काल उद्धार तथा राहतका लागि नेपाली सेनाले सुदूरपश्चिम पृतनामा हेलिकप्टरसमेत तयारी अवस्थामा राखेको जनाएको छ।