देउवा समूहले तोक्यो कांग्रेस महाधिवेशनका उम्मेदवारको शुल्क, सभापतिमा ३० हजार

काठमाडौं । समानान्तर महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीका विभिन्न तहमा उम्मेदवार बन्ने शुल्क निर्धारण गरेको छ ।
डा. शशाङ्क कोइरालाको नेतृत्वमा गठित १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका–२०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवारी शुल्क तोकिएको हो ।
आन्तरिक निर्वाचन प्रक्रियालाई व्यवस्थित र संस्थागत बनाउने भन्दै निर्देशिकामार्फत विभिन्न पदका लागि फरक–फरक शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । निर्देशिकाको अनुसूची–२५ अनुसार उम्मेदवारले सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाउनुपर्नेछ ।
निर्देशिकाअनुसार वडा कार्यसमिति सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ५०० रुपैयाँ तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ । नगरपालिकामा सभापतिका लागि २ हजार, उपसभापति र सचिवका लागि १ हजार ५००, सहसचिवका लागि १ हजार तथा सदस्यका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
उपमहानगरपालिका र महानगरपालिका कार्यसमिति सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५००, उपसभापति र सचिवका लागि १ हजार ५०० तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३ हजार ५००, उपसभापति र सचिवका लागि २ हजार ५००, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० र केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
जिल्ला कार्यसमिति सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५००, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ ।
सबैभन्दा माथिल्लो तहमा केन्द्रीय कार्यसमिति सभापतिका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ ।
यससँगै देउवा समूहले समानान्तर रूपमा अघि बढाएको महाधिवेशन प्रक्रियालाई निर्वाचन निर्देशिकामार्फत औपचारिक संरचना दिने प्रयाससमेत गरेको देखिएको छ ।






प्रतिकृया दिनुहोस्