September 28, 2026, Monday
२०८३ आश्विन १२

चोरी आरोपमा बैतडीका वडा सदस्यसहित चार जना पक्राउ

बैतडी । बैतडीमा चोरीको आरोपमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–५ का वडा सदस्य एवं कार्यपालिका सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उनीहरूलाई चोरीको घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार करिब एक महिनाअघि दशरथचन्द नगरपालिका–५, आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी भएको थियो।

उक्त चोरीको घटनाको अनुसन्धानका क्रममा चारै जनाको संलग्नता देखिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।