तरकारी उद्यमी बनिन् बडीकेदारकी पूर्वउपाध्यक्ष इन्द्रा

कैलाली । बिहानै ४ बजेबाटै धनगढीको सहिदगेट हाटबजारमा तरकारीको चहलपहल सुरु हुन्छ। पहाडबाट रातभर यात्रा गरेर ल्याइएका तरकारी किन्न व्यापारी र ग्राहकको भीड लाग्छ। त्यही भीडमा भेटिन्छिन्, डोटीको बडीकेदार गाउँपालिकाकी पूर्वउपाध्यक्ष इन्द्रा बोहरा।
हाटबजारमा उनको ‘इन्द्रा जनरल स्टोर एन्ड कृषि उपज संकलन केन्द्र’ छ। त्यहाँ उनले पहाडको अर्गानिक कृषि उपज बिक्री गर्छिन्। ४० वर्षीया इन्द्राका लागि तरकारी–फलफूलको व्यापार नयाँ काम होइन। २०७४ सालमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुअघि नै उनी तरकारी खेती र व्यापारमा संलग्न थिइन्।
गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएको तरकारी संकलन गर्थिन्। भाडामा गाडी लिएर धनगढीका विभिन्न बजार र त्रिनगर हाटबजारमा त्यो तरकारी पुर्याएर बेच्ने गर्थिन्। जनप्रतिनिधि बनेपछि भने पाँच वर्षको अधिकांश समय पालिकाको काम र जनताको सेवामै बित्यो। तर धनगढी आउँदा–जाँदा तरकारी ल्याएर बिक्री गर्ने क्रम भने रोकिएन।
उपाध्यक्षको कार्यकाल सकेर २०७९ सालपछि उनी पूर्णरूपमा तरकारी व्यवसायमा फर्किइन्। सुरुमा आफैं उत्पादन गर्ने उनी अहिले बडीकेदारलगायत पहाडी क्षेत्रका किसानले उत्पादन गरेका तरकारी संकलन गरेर धनगढीमा बिक्री गर्छिन्।
कुनै समय थोक व्यापार गर्दा मासिक १० लाख रुपैयाँसम्मको कारोबार गरेकी उनी अहिले फुटकर व्यापार गर्छिन्। यसबाट मासिक करिब दुई लाख रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछिन्। उनको व्यवसाय व्यक्तिगत आम्दानीमा मात्र सीमित छैन। तरकारी संकलनदेखि बिक्री वितरणसम्म उनले १५ जनालाई रोजगारी दिएकी छन्। गाउँमा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्याउने कामसँगै किसान र उपभोक्ताबीचको दूरी घटाउने काम पनि इन्द्राले गरिरहेकी छन्। जसमा अहोरात्र खटेर उनका छोराले साथ दिइरहेका छन्।
बडीकेदारका कुनाकाप्चामा उत्पादन हुने काँक्रा, केरा, लसुन, धनिया र हरियो सागलगायतका उत्पादन संकलन गरेर उनी धनगढी ल्याउँछिन्। विशेषगरी चुरे क्षेत्रको लोकल केरा र काँक्राको माग उच्च रहेको उनी बताउँछिन्। अर्गानिक तरकारीसँगै लोकल केरा, काँक्रा, बासमती, मार्सी र स्थानीय पहाडी चामल खोज्दै उनको पसलसम्म उपभोक्ता आइपुग्छन्। ‘पहाडको उत्पादनसँग तराईका उपभोक्ता अर्गानिकका कारण मात्र होइन, भावनात्मक रूपमै जोडिएका छन्,’ बोहरा भन्छिन्, ‘वर्खामा पहाडको तरकारी नआउने हो भने धनगढीको माग धान्न पनि सकिँदैन। मूल्यसमेत बढ्छ।’
इन्द्राका अनुसार विगतमा बडीकेदारमा उत्पादन भएको तरकारी बिक्री गर्न किसानलाई सहज बजार थिएन। अहिले संकलनकर्तामार्फत बजार पाउन थालेपछि किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्।
तर पहाडी कृषि क्षेत्रमा चुनौती पनि उत्तिकै छन्। पर्याप्त सिँचाइ नहुनु, पानीका मुहान सुक्दै जानु, सडकको पहुँच नपुग्नु र उत्पादनपछि भण्डारणको सुविधा नहुनुले किसानलाई समस्या परेको बोहरा बताउँछिन्। अर्गानिक रूपमा उत्पादन हुने तरकारी छिटो कुहिने भएकाले बडीकेदारमा कोल्ड स्टोर आवश्यक रहेको उनको भनाइ छ।
बडीकेदारमा अहिले कृषि क्षेत्र महिलाले धानिरहेको इन्द्राको भनाइ छ। उनका अनुसार पुरुषहरू रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने क्रम बढेपछि घरमै रहेका महिलाहरूले खेतीसँगै व्यवसायसमेत सम्हाल्न थालेका छन्। इन्द्राको आफ्नै जीवन पनि त्यसको उदाहरण बनेको छ।
आफू कृषक नै भएको जनप्रतिनिधिका रूपमा पालिकामा रहँदा कृषि क्षेत्रलाई प्राथमिकता दिएको उनी बताउँछिन्। ‘किसानलाई बीउ, मल तथा तालिम उपलब्ध गराउनेदेखि संकलन केन्द्र निर्माण गर्नेसम्म मेरै पालामा भयो। किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न पुरस्कारको व्यवस्था गरेका थियौं,’ इन्द्राले भनिन्।
उनी राजनीति र व्यवसायलाई पनि एकअर्काको विरोधी ठान्दिनन्। ‘राजनीति पैसा कमाउने ठाउँ होइन, खर्च गर्ने ठाउँ हो। राजनीतिमा लाग्ने मानिस आर्थिक रूपमा पनि मजबुत हुनुपर्छ,’ उनी भन्छिन्, ‘आफू सक्षम भएपछि मात्र समस्यामा परेका अरूलाई आफ्नो खल्तीबाट सहयोग गर्न सकिन्छ। पहाडमा किसानले उत्पादन गर्छन्, तर बजार नपाउँदा मेहनत खेर जान्छ। मैले सकेसम्म त्यो उत्पादन बजारसम्म पुर्याउने काम गरिरहेकी छु ।’
कान्तिपुरबाट



प्रतिकृया दिनुहोस्