November 10, 2026, Tuesday
२०८३ कार्तिक २५

नेपाल संवत् ११४७ आज मनाइँदै, नेवार समुदायमा म्हः पूजाको तयारी

काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रूपमा मनाउने यस दिन म्हः पूजा अर्थात् आत्मपूजा समेत गर्ने परम्परा छ।

नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको नेपालको मौलिक संवत् हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहासमा उल्लेख छ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको मानिने नेपाल संवत् नेपालको नामबाट नामकरण गरिएको मौलिक संवत् हो। लिच्छविकालअघि नेपालमा शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो। मौलिक संवत्को संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्ले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

त्यस्तै, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। काठमाडौँ उपत्यकामा कात्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि रहँदै आएको छ।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे तथा दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा विशेष रूपमा मनाउने गरिन्छ।

म्हः पूजा पनि आज

नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले आज म्हः पूजा गर्दैछन्। म्हः पूजा आत्मपूजा अर्थात् आफ्नै शरीर र आत्माको सम्मान तथा शुद्धताको प्रतीकका रूपमा गरिने मौलिक नेवारी संस्कार हो।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा बसेको हो। आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको उनी बताउँछन्।

यस वर्ष प्रतिपदा तिथि दुई दिन परेको कारण नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा स्थान र समुदायअनुसार केही भिन्नता देखिएको छ। केही स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा गर्दैछन्।