November 9, 2026, Monday
२०८३ कार्तिक २४

कैलालीमा धान खरिद सुरु हुँदै, सरकारी कोटा सीमित हुँदा किसान चिन्तित

धनगढी । सरकारले कैलालीमा आगामी मंसिर १ गतेदेखि किसानको धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका छ स्थानमा खरिद केन्द्र सञ्चालन गरी धान खरिद गर्ने तयारी गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयका अनुसार धनगढीको मोहनपुर, गौरीगंगा, भजनी र टीकापुरलगायत स्थानमा धान खरिद केन्द्र स्थापना गरिनेछ। कार्यालय प्रमुख दीपक थापाले निर्धारित मितिदेखि नै धान खरिद सुरु गरिने जानकारी दिए।

कम्पनीले चालु आर्थिक वर्षमा कैलालीबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। तर सरकारी खरिदको कोटा जिल्लामा उत्पादन हुने धानको तुलनामा सीमित भएकाले सबै किसानले आफ्नो उत्पादन कम्पनीलाई बिक्री गर्न पाउने अवस्था छैन।

सरकारी खरिदको मात्रा कम हुँदा बाँकी धान निजी व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। कार्यालय प्रमुख थापाले पनि सरकारी खरिदको कोटा बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै सम्बन्धित निकायसँग पहल गरिने जानकारी दिए।

सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिव क्विन्टल ३ हजार ६०० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। तर समर्थन मूल्य तोकिए पनि व्यवहारमा किसानले सोही मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन्।

मल, बीउ, सिँचाइ, मजदुरी तथा कृषि उपकरणको लागत निरन्तर बढिरहेका बेला समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपर्दा उत्पादन लागतसमेत नउठ्ने जोखिम रहेको किसानहरूको भनाइ छ।

किसान तथा सरोकारवालाले सरकारी धान खरिदको कोटा र खरिद केन्द्र दुवै बढाउन माग गरेका छन्। पर्याप्त खरिद केन्द्र नहुँदा टाढाबाट धान ढुवानी गर्नुपर्ने, लागत बढ्ने र समयमै उत्पादन बिक्री गर्न नसकिने समस्या रहेको उनीहरूको भनाइ छ।

समर्थन मूल्य घोषणा भए पनि सोही मूल्यमा पर्याप्त धान खरिद गर्ने व्यवस्था नहुँदा किसानले अन्ततः निजी व्यापारीकै भर पर्नुपर्ने अवस्था देखिएको छ। त्यसैले कैलालीमा तोकिएको ३० हजार क्विन्टलको सरकारी खरिद लक्ष्य किसानका लागि कति पर्याप्त हुन्छ भन्ने प्रश्नसमेत उठेको छ।