November 9, 2026, Monday
२०८३ कार्तिक २४

पटका पड्काउँदै गर्दा शरीरमा आगो लाग्यो, पाँच वर्षीय बालकको मृत्यु

वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीमा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो। आगलागीबाट गम्भीर घाइते भएर बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।