November 9, 2026, Monday
२०८३ कार्तिक २४

एनपीएलमा आज निर्णायक भिडन्त : कर्णालीलाई पोखरा र काठमाडौंलाई चितवनको चुनौती

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दा दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछ।

पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ। सुरुआती दुई खेलमा लगातार जित निकालेको कर्णालीले पछिल्ला दुई खेलमा भने पराजय भोगेको छ। त्यसैले प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीका लागि पोखराविरुद्धको खेल महत्वपूर्ण बनेको छ।

कर्णालीले चार खेलबाट दुई अंक जोडेको छ र तालिकाको छैटौं स्थानमा छ। यता पोखरा एभेन्जर्सले चार खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन। लगातार खराब प्रदर्शन गरेको पोखरा अंकतालिकाको पुछारमा छ।

दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। उक्त खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। काठमाडौंले पहिलो खेल गुमाए पनि त्यसपछिका तीन खेलमा लगातार जित निकाल्दै आफूलाई उपाधि दौडमा बलियो बनाएको छ। काठमाडौं चार खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

चितवनले चार खेलबाट पाँच अंक जोडेको छ। ऊ तालिकाको चौथो स्थानमा रहेको छ। प्लेअफमा स्थान सुरक्षित गर्ने दौडमा रहेका दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण हुनेछ।

एनपीएलको लिग चरण अन्तिमतर्फ अघि बढ्दै जाँदा प्रत्येक खेलको नतिजा प्लेअफ समीकरणका लागि निर्णायक बन्दै गएको छ। त्यसैले आज हुने दुवै खेलमा टोलीहरू महत्वपूर्ण दुई अंकका लागि प्रतिस्पर्धा गर्नेछन्।