भारतको वनगाउँमा भीषण आगलागी, ६० पसल जलेपछि धनगढीको दमकल पुग्यो

धनगढी । दीपावलीका क्रममा भारतको सीमावर्ती बजारमा भीषण आगलागी हुँदा करिब ६० पसल जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिन धनगढी उपमहानगरपालिकाबाट दमकलसहितको टोली भारत पुगेको थियो।
भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाको वनगाउँ बजारमा सोमबार साँझ भएको आगलागी धनगढी उपमहानगरपालिकाको दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो।
भारतको पलियाका स्थानीय पत्रकार शिशिर शुक्लाका अनुसार लक्ष्मीपूजाका लागि बालिएका झिलिमिली बत्तीबाट विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी छ। आगलागीबाट बजारका करिब ६० पसल जलेर नष्ट भएका छन्।
नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन हुँदै आएको उक्त बजार पलियाबाट करिब ४० किलोमिटर टाढा छ। भारतीय दमकल घटनास्थल पुग्न समय लाग्ने भएपछि स्थानीयले धनगढी उपमहानगरपालिकासँग सहयोग मागेका थिए।
आगलागीको सूचना साँझ करिब ६ः३० बजे पाएपछि धनगढी उपमहानगरपालिकाले तत्काल दमकलसहितको टोली परिचालन गरेको थियो। नगर प्रहरी, तीनवटा दमकल र एउटा ब्याकुलोडरसहितको टोली करिब ७ बजे घटनास्थल पुगेको थियो।
आगो नियन्त्रणका क्रममा तीनवटै दमकलमा तीन–तीनपटक पानी भरेर प्रयोग गरिएको थियो। आगो थप फैलिन नदिन ब्याकुलोडरको प्रयोग गरी फायर लाइनसमेत बनाइएको थियो।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार नेपाली सुरक्षाकर्मी र स्थानीयको सहयोगमा राति करिब १२ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। त्यसपछि धनगढीबाट गएको दमकल टोली उपमहानगरपालिका कार्यालय फर्किएको थियो।
लखिमपुर खिरी, पलियाका भाजपा नेता रवि गुप्ताले मेयर हमाललाई आगलागीबारे जानकारी गराएपछि धनगढीबाट दमकल टोली परिचालन गरिएको थियो।
धनगढीमै अटो सर्भिसमा आगलागी
यसैबीच, कैलालीको धनगढी उपमहानगरपालिका–१३, भाटभटेनी नजिक रहेको बङ्लामुखी अटो सर्भिस प्रालिमा पनि आइतबार साँझ आगलागी भएको छ।
गजेन्द्र कार्कीले सञ्चालन गर्दै आएको अटो सर्भिस सेन्टरमा साँझ ७ः४५ बजे अचानक आगलागी भएको सूचना पाएपछि कैलालीगाउँ प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति ८ः३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मैनबत्तीबाट आगो सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्