आज गाई तिहार, गाईको पूजा गरी मीठा परिकार खुवाइँदै

काठमाडौं । तिहारको चौथो दिन आज हिन्दू धर्मावलम्बीले गाईको पूजा गरी गाई तिहार मनाउँदैछन्। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्दै विधिपूर्वक पूजा गर्ने र मीठा परिकार खान दिने परम्परा छ।
हिन्दू धर्ममा गाईलाई ‘गौमाता’का रूपमा सम्मान गरिन्छ। गाईको दूध आमाको दूधसरह पोषिलो हुने धार्मिक तथा सामाजिक विश्वास छ। दूधसँगै गोबर र गहुँत प्राप्त हुने भएकाले पनि गाईको धार्मिक, सांस्कृतिक तथा व्यवहारिक महत्व रहेको मानिन्छ।
धार्मिक परम्पराअनुसार आज गाईको पूजा गरी विभिन्न परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।
वैदिक सनातन हिन्दू परम्परामा धार्मिक कार्य तथा संस्कारका अवसरमा गाईदान गर्ने चलनसमेत रहिआएको छ। पछिल्लो समय गाईको अभावमा गाईदानको सट्टा सङ्कल्प गरेर रकम राख्ने प्रचलन बढेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।
नेपालमा गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक मान्यतामा गाईको विशेष स्थान रहेकाले तिहारमा गाईपूजालाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।
यसैगरी, धार्मिक विश्वासअनुसार आज गाईको पूजा गरेपछि साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउने विश्वाससमेत रहेको छ।





प्रतिकृया दिनुहोस्