November 1, 2026, Sunday
२०८३ कार्तिक १६

कांग्रेसको देउवा समूहले दार्चुला र सल्यानमा चयन गर्‍यो जिल्ला सभापति

धनगढी। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले दार्चुला र सल्यानमा जिल्ला सभापति चयन गरेको छ। दार्चुलामा सुरेन्द्रप्रसाद अवस्थी र सल्यानमा दीपकजंग चन्द जिल्ला सभापतिमा चयन भएका हुन्।

खलंगामा सम्पन्न जिल्ला अधिवेशनबाट अवस्थीको नेतृत्वमा दार्चुला जिल्ला कार्यसमिति चयन गरिएको हो। उपसभापतिमा लालसिंह धामी र दिलिपसिंह महता तथा सचिवमा लालबहादुर चन्द चयन भएका छन्। अधिवेशनले ३७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा भानसिंह धामी र क्षेत्र ‘ख’ को सभापतिमा पूर्णसिंह साउद चयन भएका छन्।

सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्। अधिवेशनले उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्दलाई चयन गरेको छ।

अधिवेशनबाट महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा सल्यानका १० वटै स्थानीय तहका सभापतिसमेत चयन गरिएको उपसभापति शाहले जानकारी दिएका छन्।

देउवा समूहले पार्टीको संस्थापनइतर समूहसँगको विवादका बीच छुट्टै संगठनात्मक गतिविधि अघि बढाइरहेको छ। समूहले आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।

जिल्ला अधिवेशनमार्फत नेतृत्व चयनलाई तीव्रता दिनुले देउवा समूहले समानान्तर महाधिवेशनको तयारीलाई संगठनात्मक तहसम्म विस्तार गरेको देखिन्छ।