November 1, 2026, Sunday
२०८३ कार्तिक १६

सुदूरपश्चिममा लगानी गर्न देशभरका उद्यमीलाई मुख्यमन्त्री भट्टको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धनका लागि आवश्यक ऐन, कानुन, नीति तथा नियम निर्माण गर्न सरकार तयार रहेको बताएका छन्। उनले सुदूरपश्चिममा लगानीका लागि देशभरका उद्यमीलाई आह्वान गर्दै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टर र कैलाली बहुमुखी क्याम्पसले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’लाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उद्यमीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

‘सुदूरपश्चिमका मात्रै होइन, देशभरिका उद्यमीहरूलाई लगानीका लागि सुदूरपश्चिममा आउन आग्रह गर्दछु। त्यसका लागि सरकारले गर्ने सबै सहजीकरण हामी गर्छौँ,’ उनले भने।

मुख्यमन्त्री भट्टले प्रदेशका स्रोत, साधन र सम्भावनालाई उत्पादनसँग जोड्दै निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्नेमा जोड दिए। विश्वका विभिन्न देशमा रहेका सुदूरपश्चिमेलीलाई समेत आफ्नो मातृभूमिमा लगानी गरी प्रदेशको विकासमा योगदान गर्न उनले आग्रह गरे।

उनले देशको अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै त्यसलाई चलायमान बनाउन उद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक योजनामार्फत आर्थिक सम्भावनाको उपयोग गर्नुपर्ने बताए। जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत विपद्ले वर्षौँको लगानी क्षणभरमै जोखिममा पार्न सक्ने भएकाले जोखिमको आकलन गरेर विकासलाई नयाँ दिशा दिनुपर्ने उनको भनाइ थियो।

‘देशको अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरहेको छ। अब अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले उद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक योजनामार्फत आर्थिक सम्भावनाको उपयोग गर्न लागौँ।’

‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ। कैलाली बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टका अनुसार स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप र बजारका अवसर पहिचान गरी तिनलाई दिगो तथा लगानीयोग्य उद्यममा रूपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा उद्यमशील प्रतिभाको पहिचान तथा विकास, स्थानीय स्रोत र सीपको व्यावसायीकरण, नयाँ उद्यम स्थापना, स्थानीय मूल्य अभिवृद्धि तथा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। छनोट भएका व्यावसायिक प्रस्तावमा छलफल गरी पृष्ठपोषण दिनुका साथै उत्कृष्ट योजनालाई थप तालिम, मेन्टरसिप र बीउ पुँजीसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

यसैबीच शनिबार आयोजित कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सेवानिवृत्त प्राध्यापक डिल्लीराज फुलारालाई सम्मान गरिएको थियो। सो अवसरमा उनको निबन्धसङ्ग्रह ‘आमा’ तथा सहप्राध्यापक गणेशराज जोशीको समालोचनात्मक कृति ‘सरल समालोचना’ विमोचन गरिएको थियो। ‘सरल समालोचना’मा १५ वटा लेख समावेश छन्।