November 1, 2026, Sunday
२०८३ कार्तिक १६

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुने भएको छ।

माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।