November 1, 2026, Sunday
२०८३ कार्तिक १६

एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै, दुवैको नजर जितमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन्।

खेल साँझ ५ बजे सुरु हुनेछ। शनिबार वर्षाका कारण निर्धारित खेल प्रभावित भएपछि आजको खेल भने मौसम अनुकूल रहे निर्वाध सञ्चालन हुने अपेक्षा गरिएको छ। शनिबारको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोज्बीच हुने तालिका रहे पनि वर्षाका कारण रद्द भएको थियो।

शनिबारकै दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच पाँच–पाँच ओभरको खेल भएको थियो। उक्त खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले पराजित गरेको थियो।

जनकपुरले जारी प्रतियोगितामा आज तेस्रो खेल खेल्दैछ। उसले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार व्यहोरेको छ। जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।

पोखरा एभेन्जर्सका लागि भने आज दोस्रो खेल हो। उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय व्यहोरेको थियो। त्यसैले आजको खेलबाट दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछन्।

हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ स्थानमा छ भने पोखरा अन्तिम स्थानमा रहेको छ। आजको खेल दुवै टोलीका लागि प्रतियोगिताको आगामी यात्रामा महत्त्वपूर्ण बन्नेछ।