November 10, 2026, Tuesday
२०८३ कार्तिक २५

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमको भिडन्त, दुवै टोलीलाई जितको दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

पहिलो संस्करणको विजेता जनकपुर र दुई पटकको उपविजेता सुदूरपश्चिमबीचको भिडन्त दुवै टोलीका लागि प्लेअफ दौडमा महत्वपूर्ण मानिएको छ। अंक तालिकामा आफूलाई बलियो अवस्थामा राख्न सुदूरपश्चिम जितको खोजीमा रहँदा जनकपुरलाई भने प्लेअफ सम्भावना जीवित राख्न जित आवश्यक छ।

सुदूरपश्चिमले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको छ। ६ अंकसहित तेस्रो स्थानमा रहेको टोली आजको खेल जित्दै प्लेअफ यात्रालाई थप बलियो बनाउने लक्ष्यमा छ।

जनकपुर भने पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंकमा पाँचौँ स्थानमा छ। पछिल्ला खेलमा अपेक्षित लय समात्न नसकेको जनकपुर आज सुदूरपश्चिमलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करणमा प्रत्येक खेलसँगै प्लेअफ समीकरण थप रोचक बन्दै गएको छ। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

काठमाडौंको जितले अंकतालिका थप प्रतिस्पर्धात्मक

यसअघि सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। जितसँगै काठमाडौंले पाँच खेलबाट आठ अंक जोडेको छ। चितवन पाँच अंकसहित चौथो स्थानमा छ।

चितवनका रवि बोपाराले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रन बनाए। कमिल मिलसाराले ११ बलमा २८ तथा डान मौस्लीले ३२ बलमा २९ रन जोडे। तर, महत्वपूर्ण समयमा विकेट गुम्दा चितवन लक्ष्यसम्म पुग्न सकेन।

यसअघि काठमाडौंले २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो। राशिद खानले ३० बलमा दुई चौका र चार छक्कासहित ५२ रन बनाए। विल बोसिस्टोले २७ र साहन अरागिचेले ३३ रनको योगदान दिए।

चितवनका रिजन ढकालले तीन विकेट लिए। काठमाडौंले मध्य र अन्तिम ओभरमा महत्वपूर्ण रन जोड्दै चितवनसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा चितवनले पावरप्लेमा ५७ रन जोड्दै बलियो सुरुआत गरेको थियो। तर, मध्यक्रममा लगातार विकेट गुमाएपछि टोली दबाबमा आयो। डान मौस्ली र कप्तान सिकन्दर राजाको विकेटपछि चितवनको रनगति खस्कियो। १९औँ ओभरमा बोपारा आउट भएपछि काठमाडौंले खेल आफ्नो नियन्त्रणमा लिँदै १० रनको जित सुनिश्चित गर्‍यो।