गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज, विभिन्न कार्यक्रम आयोजना गरिँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली राजनीतिका त्यागी नेता गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
त्याग, साहस र निष्ठाका प्रतीक मानिने सिंहले नेपाली राजनीतिमा सत्ता र पदभन्दा लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिएको उदाहरण प्रस्तुत गरेका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहसमेत अस्वीकार गर्दै उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो। राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्र पुनःस्थापनासम्म उनी नेपाली राजनीतिका प्रमुख संघर्षशील पात्रका रूपमा स्थापित भए।
१९९७ सालमा स्थापना भएको प्रजा परिषद्मा आबद्ध हुँदै राणा शासनविरुद्ध सक्रिय भएका सिंहले त्यस क्रममा जेल जीवनसमेत बिताए। भद्रगोल जेलबाट भागेर भारत पुगेपछि उनको बीपी कोइरालासँग राजनीतिक सहकार्य सुरु भएको थियो। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई संगठनात्मक रूपमा अघि बढाउन पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो।
विसं २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चाको नेतृत्व गर्दै सशस्त्र संघर्षमा सहभागी भएका सिंह त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहे। २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका उनी २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि लामो समय कारावासमा परे।
सिंहले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा गरी करिब आठ वर्ष जेल जीवन बिताए। विसं २०२५ मा बीपी कोइरालासँगै रिहा भएपछि उनी भारत प्रवासमा गएर राजनीतिक संगठन विस्तारमा सक्रिय भए। २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंहलाई तत्कालीन सरकारले पुनः गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा राखेको थियो।
पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा सिंहले २०३६ सालको विद्यार्थी आन्दोलन, जनमतसंग्रह र २०४२ सालको सत्याग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरे। बीपी कोइरालाको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा रहेका उनले २०४६ सालको जनआन्दोलनमा कम्युनिस्ट शक्तिसँग समेत सहकार्य गर्दै पञ्चायतविरुद्ध संयुक्त आन्दोलनको नेतृत्व गरे।
२०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्ने अवसर पाए पनि सिंहले कृष्णप्रसाद भट्टराईलाई अघि सारे। यही निर्णयलाई नेपाली राजनीतिमा उनको त्याग र निष्ठाको उच्च उदाहरणका रूपमा लिने गरिन्छ।
सिंहसँगै बीपी कोइरालालाई लामो समय बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बीपी संग्रहालयमा रूपान्तरण गरिएको थियो। संग्रहालयमा बीपी, गणेशमानलगायत बन्दी बनाइएका नेताका सालिक तथा उनीहरूको राजनीतिक संघर्षसँग सम्बन्धित संरचना निर्माण गरिएको छ।
गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका विभिन्न समूह, भ्रातृ तथा शुभेच्छुक संस्था, गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले आज विभिन्न कार्यक्रम आयोजना गर्ने जनाइएको छ।





प्रतिकृया दिनुहोस्