November 10, 2026, Tuesday
२०८३ कार्तिक २५

यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी विभिन्न मीठा परिकार खुवाएर मनाइँदैछ।

आज घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाएर त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा गोवर्द्धन पूजा गर्ने चलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि छ।

धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकमा शासन गर्ने अधिकार दिएका थिए। यही विश्वासअनुसार आज बली राजाको समेत पूजा–आराधना गरिन्छ। तिहारमा देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा पनि यही धार्मिक विश्वाससँग जोडिएको छ।

वर्षभरि खेतबारी जोतेर कृषि कार्यमा महत्वपूर्ण योगदान गर्ने गोरुको पूजा गरी मीठा परिकार खुवाउने चलन पनि आजै छ। गोरुलाई भगवान् शिवको वाहन नन्दी अर्थात् साँढेका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

त्यस्तै, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानको सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। त्यसैले कार्तिक शुक्ल प्रतिपदाको दिनलाई कतिपय समुदायमा हलि तिहार पनि भनिन्छ।

गोवर्द्धन पूजा, गोरु पूजा र हलिको सम्मानले तिहारको यो दिनलाई प्रकृति, कृषि, पशुधन र श्रमप्रतिको सम्मानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ।