September 23, 2026, Wednesday
२०८३ आश्विन ७

राप्रपा महाधिवेशनको तयारी तीव्र : ७२ जिल्लामा अधिवेशन सकियो, असोज २१ मा सातै प्रदेशको अधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशको अधिवेशन आगामी असोज २१ गते एकैदिन गर्ने भएको छ। मंसिरमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै राप्रपाले जिल्ला अधिवेशनपछि प्रदेश तहको अधिवेशन प्रक्रिया अघि बढाएको हो।

राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाए पनि भदौ १० को बाढीका कारण केही जिल्लाको अधिवेशन प्रभावित भएको उनले बताए।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई असोज १५ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने समय दिइएको छ। त्यस्तै, अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि सोही समयभित्र अधिवेशन सक्न निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए।

‘भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाइएको थियो। भदौ १० को बाढीले तालिका केही प्रभावित भयो,’ श्रेष्ठले भने, ‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई असोज १५ गतेसम्म अधिवेशन गर्न समय दिइएको छ। जुम्ला र धनकुटालाई पनि सोही समयभित्र अधिवेशन सक्न निर्देशन दिइएको छ।’

जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेसँगै राप्रपाले प्रदेश अधिवेशनको तयारीसमेत तीव्र बनाएको छ। सातवटै प्रदेशमा एकैदिन अधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको छ। त्यसका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधिसमेत खटाइसकिएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्राडा जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको छ।

राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमितिले छनोट गरेका प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा कार्यसमितिबाट छनोट भएका प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष तथा कार्यसमितिबाट छनोट भएका प्रतिनिधिले पनि सहभागिता जनाउनेछन्।

नगर तथा गाउँपालिका कार्यसमितिका अध्यक्षहरू पनि प्रदेश अधिवेशनका प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था छ।

यसैबीच, राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ। केन्द्रीय महाधिवेशनका प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट हुनेछन्। विधानअनुसार समानुपातिक तथा समावेशी आधारमा प्रतिनिधि छनोट गर्ने व्यवस्था रहेको राप्रपाले जनाएको छ।

केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै राप्रपाले सक्रिय सदस्यताको आवेदन तथा विवरण प्रविष्ट गर्ने समय असोज १५ गतेसम्म तोकेको छ। देशभर सक्रिय सदस्यताको विवरण संकलन तथा प्रविष्टिको काम भइरहेको पार्टीले जनाएको छ।