दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने मिति अझै अनिश्चित, यातायात विभागले बनायो १५ बुँदे योजना

काठमाडौं । दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापनका लागि अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङको व्यवस्था कायम राख्ने उल्लेख गरेको हो।
तर, अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले अझै तय गरेको छैन। विभागले यातायात व्यवसायी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग थप छलफल गरी टिकट बुकिङ, रुट परमिट तथा ठूला सवारीसाधनको आवतजावतसम्बन्धी निर्णय गर्ने जनाएको छ।
विभागले सार्वजनिक यातायात व्यवसायीलाई सकेसम्म अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउन तथा यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्न निर्देशन दिएको छ। टिकट बिक्रीमा संलग्न कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्न तथा अनधिकृत काउन्टर र परिचयपत्र वा पोशाकबिनाका व्यक्तिबाट टिकट बिक्री रोक्न पनि भनिएको छ।
चाडपर्वका बेला उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएकाले विभागले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत निकायबीच समन्वय गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको छ। यात्रुले आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिनुपर्ने र टिकट लिएर मात्रै यात्रा गर्नुपर्ने व्यवस्था पनि दोहोर्याइएको छ।
सडकदेखि सवारीसम्म निगरानी
चाडपर्वका बेला यात्रुवाहक सवारीको चाप बढ्ने मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण गरी आवश्यक मर्मत–सम्भार गर्न विभागले सम्बन्धित निकायलाई भनेको छ। पहिरो नियन्त्रण, सडक जाम न्यूनीकरण तथा सडकको अवस्थाबारे यात्रुलाई निरन्तर सूचना उपलब्ध गराउन सडक विभागसँग समन्वय गर्नसमेत आग्रह गरिएको छ।
यात्रुको चापअनुसार आवश्यक अतिरिक्त सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्नुपर्नेछ। रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावतबारे थप छलफल गरी यातायात सञ्चालनको मिति र समयावधिसहित सूचना जारी गर्ने तयारी विभागको छ।
मापसे–लापसे जाँचदेखि चालकको स्वास्थ्य परीक्षणसम्म
चाडपर्वमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि उपत्यका भित्रिने–बाहिरिने प्रमुख नाकासहित देशभर मादक पदार्थ सेवन ९मापसे० तथा लागुपदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न विभागले निर्देशन दिएको छ। कुनै चालक मापसे वा लापसे गरेको अवस्थामा भेटिए सम्बन्धित व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।
लामो दूरीका यात्रुवाहक सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्थालगायत अनिवार्य चेकजाँच गर्नुपर्नेछ। लामो दूरीका सार्वजनिक सवारीमा कम्तीमा दुई चालक राखी आलोपालो सवारी चलाउने व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ।
त्यस्तै, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन व्यवसायीलाई स्पष्ट निर्देशन दिइएको छ।
चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने र त्यससँगै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले विभागले यातायात व्यवस्थापन, सडकको अवस्था, चालकको स्वास्थ्य तथा सवारीको प्राविधिक अवस्थामाथि निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।




प्रतिकृया दिनुहोस्