भारतीय गाडी समातेपछि सशस्त्रका एसपीलाई भन्सार अधिकृतले दिए धम्की, ‘गृहमन्त्रीलाई हान्छु’

धनगढी । भन्सार प्रक्रिया पूरा गरेर आएको भारतीय गाडी कैलालीमा नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत र कैलालीस्थित सशस्त्र प्रहरी प्रमुखबीच चर्काचर्की भएको अडियो सार्वजनिक भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरी गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन दबाब दिएका छन् । गाडी नछाडिए गृहमन्त्री, प्रहरी महानिरीक्षक (आईजीपी) तथा भन्सार विभागका उच्च अधिकारीलाई फोन गर्ने चेतावनीसमेत भट्टले दिएको अडियोमा सुनिन्छ ।

गड्डाचौकीबाट भन्सार पास भइसकेको गाडी कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै भट्टले एसपी केसीसँग प्रश्न गरेका छन् । केसीले सामानको मूल्यांकनमा शंका देखिएपछि गाडी नियन्त्रणमा लिएको बताएपछि भट्टले त्यस्तो अवस्था भए गाडी भन्सार कार्यालयमा पठाउनुपर्ने बताएका छन् ।

‘भन्सारमा पठाइदिनुपर्यो । होइन भने हजुरहरूलाई लाग्छ भने छोडिदिनुपर्यो । बाटोमा दुःख दिने कामचाहिँ नगरौँ सर,’ भट्टले भनेका छन् । त्यसपछि उनले गाडी भन्सार कार्यालयमा नपुगे आफूले आईजीपी वा गृहमन्त्रीलाई फोन गर्ने चेतावनी दिएका छन् ।

भट्टले कञ्चनपुरबाट जाने सामानलाई बाटोमा दुःख दिने गरिएको तथा धनगढीमा समेत गल्ती हुने गरेको आरोप लगाएका छन् । गाडीमा सामानको परिमाण फरक देखिए आफूले सम्बन्धित उच्च अधिकारीलाई जानकारी गराउने चेतावनीसमेत उनले दिएका छन् ।

गाडी नियन्त्रणमा लिन ठूलो टोली परिचालन गरिएको विषयमा समेत भट्टले एसपी केसीसँग प्रश्न गरेका छन् । ‘त्यो कुनै आतंकवादी थियो र?’ भन्दै उनले गाडी रोक्नुको कारणबारे प्रश्न गरेका छन् । अडियोमा उनले ‘पैसा नपाएपछि समातिएको होइन?’ भन्नेसमेत प्रश्न गरेको सुनिन्छ ।

त्यसको जवाफमा एसपी केसीले ‘पैसा पाएको नपाएको त तपाईंहरूलाई थाहा होला’ भनेका छन् । त्यसपछि भट्टले गाडी धनगढीमा कसरी नियन्त्रणमा आयो भन्दै एसपी केसीलाई समेत कारबाहीको भागीदार बनाउने चेतावनी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार भट्टले कैलालीमा कार्यरत डीएसपी हीरासिंह महरालाई समेत फोन गरेर गाडी नियन्त्रणमा लिएको विषयमा स्पष्टीकरण माग्दै कारबाहीको चेतावनी दिएका थिए । स्रोतका अनुसार उनले डीएसपी महरासँग चर्को स्वरमा कुरा गर्दै ‘तपाईंहरूले पैसा खानुभयो’ भन्नेसमेत आरोप लगाएका थिए ।

के हो प्रकरण ?

प्रहरी स्रोतका अनुसार सार्वजनिक भएको अडियो अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय गाडी नियन्त्रणमा लिएको घटनासँग सम्बन्धित छ ।

अत्तरियामा यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी टायर, ट्युबलगायतका सामानसहित नियन्त्रणमा लिइएको थियो । उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरी आएको बताइएको छ ।

तर, सामानको वास्तविक मूल्यभन्दा कम मूल्यांकन गरी भन्सारबाट पास गरिएको हुनसक्ने सूचनाका आधारमा संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएको प्रहरी स्रोतको दाबी छ । नियन्त्रणमा लिइएको गाडी सुरक्षाकर्मीले कैलाली भन्सार कार्यालयमा बुझाएका थिए । पछि कैलाली भन्सारमार्फत इलाका प्रहरी कार्यालय हुँदै गाडी कञ्चनपुर भन्सार कार्यालय पठाइएको जनाइएको छ ।

यस प्रकरणमा गाडी नियन्त्रणमा लिनुपर्ने अवस्था, सामानको वास्तविक मूल्यांकन, भन्सार घोषणामा उल्लेख गरिएको विवरण र वास्तविक परिमाण तथा भन्सार प्रक्रिया कानुनअनुसार भए/नभएको विषय भने अझै स्पष्ट हुन बाँकी छ ।

सार्वजनिक भएको अडियोको आधिकारिकता तथा त्यसमा व्यक्त आरोप र दाबीबारे भन्सार कार्यालय, सशस्त्र प्रहरी तथा सम्बन्धित अन्य अधिकारीको औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।