September 28, 2026, Monday
२०८३ आश्विन १२

कैलाली-५ मा एउटै अस्पतालका दुई चिकित्सक, फरक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको दौडमा

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधिका लागि हुने प्रतिस्पर्धा रोचक बन्दै गएको छ। धनगढीस्थित एउटै अस्पतालमा कार्यरत दुई चिकित्सकले फरक–फरक क्लस्टरबाट उम्मेदवारी घोषणा गरेपछि कांग्रेस वृत्तमा यसको चर्चा चुलिएको हो।

निसर्ग अस्पतालमा कार्यरत डा. मेराज आलम अन्सारी र डा. प्रदीप मिश्रले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन्। चिकित्सकीय पेसामा सक्रिय रहे पनि दुवै चिकित्सक कांग्रेसको संगठन तथा पेसागत क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनीहरू अहिले आ–आफ्नो क्लस्टरबाट प्रतिनिधि बन्ने दौडमा छन्।

कांग्रेसका वर्तमान प्रदेश सदस्य तथा स्वास्थ्य विभाग प्रमुखसमेत भइसकेका डा. अन्सारीले मुस्लिम–मधेसी क्लस्टरबाट उम्मेदवारी दिएका छन्। नेपाल मेडिकल एसोसिएसनका प्रदेश सचिव तथा सोसाइटी अफ सर्जन्स नेपालका प्रदेश अध्यक्षसमेत रहेका अन्सारीले पार्टी संगठनमा आफ्नो लामो सक्रियता र सम्बन्धलाई आधार बनाएर प्रतिनिधिका लागि दाबी प्रस्तुत गरेका छन्।

यता, प्रजातान्त्रिक चिकित्सक संघका प्रदेश संयोजक डा. मिश्रले पेसागत विज्ञ क्लस्टरबाट उम्मेदवारी दिएका छन्। नेपाल मेडिकल एसोसिएसनको प्रदेश अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका मिश्रले स्वास्थ्य क्षेत्रका विज्ञ तथा पेसागत नेतृत्वलाई कांग्रेसको नीति निर्माण र निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा जोडिनुपर्ने विषयलाई आफ्नो राजनीतिक एजेन्डा बनाएका छन्।

एउटै स्वास्थ्य संस्थामा सहकर्मीका रूपमा कार्यरत दुई चिकित्सक फरक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएपछि कैलाली–५ को चुनावी समीकरणमा यसलाई चासोका साथ हेरिएको छ। दुवैको उम्मेदवारीले कांग्रेसभित्र पेसागत समूह र स्वास्थ्य क्षेत्रबाट आउने प्रतिनिधित्वको बहसलाई समेत सतहमा ल्याएको छ।

अब महाधिवेशन प्रतिनिधि छनोटका लागि हुने मतदानमा दुवै चिकित्सकले आफ्नो–आफ्नो क्लस्टरमा कस्तो समर्थन जुटाउँछन् भन्ने विषय कैलाली कांग्रेसको चासोको केन्द्रमा परेको छ।