प्रधानाध्यापक नियुक्ति विवादमा शिक्षकलाई ज्यान मार्ने धम्की

डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विवाद चर्किँदा शिक्षक भागिराम चौधरीले आफूलाई ज्यान मार्ने धम्की दिइएको र भौतिक आक्रमणको प्रयास भएको आरोप लगाएका छन्। सुरक्षा जोखिम देखाउँदै उनी अहिले विद्यालय छाडेर बर्दिया पुगेका छन्।
चौधरीले प्रहरी चौकी, गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाइलगायतका निकायमा दिएको निवेदनमा स्थानीय गणेश भुल, गोविन्द बिनाडी र नरबहादुर थापाले आफूलाई धम्की दिएको उल्लेख गरेका छन्। उनका अनुसार उनीहरू हातहतियार र काठको मुडासहित आफूलाई आक्रमण गर्न आएका थिए।
‘खुकुरीले काटिदिन्छु भन्दै हातहतियार र काठको ठूलो मुडा लिएर आएका थिए। मुडाले हाने पनि म छलेर बच्न सफल भएँ,’ चौधरीले भने। आक्रमण गर्न आएका व्यक्तिहरूले मदिरा सेवन गरेको पनि उनको आरोप छ।
विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनपछि राजीनामा दिएसँगै नयाँ प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद सुरु भएको चौधरीको भनाइ छ। आफू सहायक प्रधानाध्यापक भएकाले नियमअनुसार प्रधानाध्यापक बन्न सक्ने अवस्था रहे पनि आफूले पदको दाबी नगरेको उनले बताए।
‘मैले प्रधानाध्यापक बन्छु भनेको पनि थिएन। तर, नियमअनुसार म बन्न सक्ने भएकाले स्थानीयलाई प्रयोग गरेर आफूविरुद्ध आक्रमण गराइएको हो,’ उनले भने।
चौधरीले आरोप लगाएका नरबहादुर थापा यसअघि सोही विद्यालयमा निजी शिक्षकका रूपमा कार्यरत थिए। गाउँपालिकाका अनुसार उनी अहिले विद्यालयमा कार्यरत छैनन्। गोविन्द बिनाडी शिक्षक–अभिभावक संघका अध्यक्ष हुन् भने गणेश भुल स्थानीय हुन्।
चौधरी बारबर्दिया नगरपालिका–११, बर्दियाका हुन् र २०८० पुसदेखि जोराघाट माध्यमिक विद्यालयमा कार्यरत छन्। सुरक्षा जोखिमका कारण विद्यालय फर्किन नसकेको उनले बताएका छन्।
गाउँपालिकाको शिक्षा शाखाका प्रमुख चेतराज बिनाडीका अनुसार हाल शिक्षक देवबहादुर कुँवरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ। चौधरीमाथि दुर्व्यवहार भएको विषय पालिकामा समेत जानकारी आएको उनले बताए।
गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले घटनाबारे दुवै पक्षलाई बोलाएर छलफल गरिने बताए। ‘जे भयो, त्यो शिक्षा क्षेत्रमा सुहाउने विषय होइन। सहमति वा कानुनी प्रक्रियाबाट टुंगो लगाउनुपर्छ,’ उनले भने।
शिक्षा शाखा प्रमुख बिनाडीले पनि शिक्षकको सुरक्षा पालिकाको दायित्व भएको बताए। उनका अनुसार वडास्तरमा समस्या समाधान नभए पालिकाले छलफलमार्फत टुंग्याउने प्रयास गर्नेछ।
चौधरीले भने आफूलाई धम्की तथा आक्रमणको आरोपमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही र आफ्नो सुरक्षाको व्यवस्था नभएसम्म विद्यालय नफर्किने बताएका छन्। उनले प्रहरी, शिक्षा मन्त्रालय, शिक्षक महासंघ, गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन्।



प्रतिकृया दिनुहोस्