डडेलधुरा कांग्रेसको निर्णय : नैनसिंह महरलाई महामन्त्रीमा अघि सार्ने

डडेलधुरा । नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।
प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पारित निर्णयमार्फत डडेलधुरा कांग्रेसले महरको पक्षमा मतदान गर्न देश तथा विदेशबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेको हो।
अधिवेशनबाट पारित अपिलमा महरलाई ‘इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्व’का रूपमा प्रस्तुत गरिएको छ। कांग्रेसलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउनुपर्ने तथा बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नयाँ सोच, कार्यशैली र राजनीतिक संस्कारसहित अघि बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
महरको उम्मेदवारीलाई संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणसँग जोडिएको छ।
‘नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो,’ निर्णयमा भनिएको छ।
यसैबीच, महरले १५औँ महाधिवेशनको उद्घाटन संयुक्त रूपमा गर्ने प्रयास भइरहेको बताएका छन्। डडेलधुराको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसको महाधिवेशन एउटै प्रक्रियाबाट सम्पन्न हुने सम्भावना कम रहेको संकेतसमेत गरे।
पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्लामा आयोजित कार्यक्रममा महरले आफूहरू देउवाले देखाएको राजनीतिक बाटोबाट अलग नभएको स्पष्ट पारे।
‘हामीले ४० वर्षसम्म शेरबहादुर दाइलाई नेता मान्यौँ। सात पटक निर्वाचन जितायौँ। उहाँले नै देखाएको बाटो चारतारे झन्डा र रुख चिन्ह थियो। त्यो कांग्रेसबाट हामी कहीँ गएका होइनौँ,’ उनले भने।
महरले आफूहरू सहभागी रहेको कांग्रेसलाई नै बलियो बनाउने बताएका छन्। उनले १५औँ महाधिवेशन सशक्त रूपमा सम्पन्न गर्न पार्टीपंक्तिलाई आग्रह गर्दै डडेलधुराको राजनीतिक गरिमा र इतिहासलाई कायम राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे।





प्रतिकृया दिनुहोस्