September 26, 2026, Saturday
२०८३ आश्विन १०

लगातारको वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायत सम्भावित जोखिम बढेपछि सुदूरपश्चिमका पहाडी सात जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सातवटै पहाडी जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण सडकमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन रोक्ने निर्णय गरेका हुन्।

रोक अवधिमा पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन। तराईका कैलाली र कञ्चनपुरमा भने तत्काल सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन।

ट्राफिक प्रहरीले रोकसम्बन्धी सूचना थाहा नपाई पहाडतर्फ गइरहेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ।

सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।