भारी वर्षाको असर कांग्रेस महाधिवेशनमा, कैलालीको क्षेत्रीय अधिवेशनको मिति सर्‍यो

धनगढी । लगातारको वर्षाका कारण नेपाली कांग्रेस कैलालीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको मिति दुई दिन पछाडि सारेको छ। असोज १० गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन अब असोज १२ गते हुने भएको हो।

बुधबार साँझदेखि कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षा भइरहेको र प्रतिकूल मौसमका कारण अधिवेशन सार्नुपरेको जिल्ला निर्वाचन अधिकृत वीरेन्द्रकुमार खत्रीले जानकारी दिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा मिति परिवर्तन गरिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिले प्रतिकूल मौसम भएका क्षेत्रमा असोज १३ गतेभित्र अनुकूलता हेरी अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरेको छ। पछिल्ला दुई दिनको भारी वर्षा र थप वर्षाको पूर्वानुमानका कारण विशेषगरी पहाडी जिल्लाका केही निर्वाचन क्षेत्रमा अधिवेशन भोलि वा पर्सिसम्म सारिएको समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार देखिन थालेकाले अधिकांश क्षेत्रमा निर्धारित समयमै अधिवेशन सम्पन्न हुने अवस्था बनेको छ। क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्।

संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुनेछन् भने कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ। कार्यसमितिमा १८ जना सदस्य निर्वाचित हुनेछन्।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना संघीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। यसमा महिला, खुला, युवा, समानुपातिक तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्व रहने व्यवस्था कांग्रेसको निर्वाचन निर्देशिकाले गरेको छ। त्यस्तै प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट १२ जना महासमिति सदस्य चयन हुनेछन्।

प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै क्षेत्रमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ। प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना तथा एक महिलासहित दुई सहसचिव निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गरिनेछ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति सदस्यमा महिला, दलित, युवा, खुला तथा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व रहने व्यवस्था छ। प्रदेश प्रतिनिधि चयनमा पनि महिला, खुला, युवा, समानुपातिक तथा पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशनपछि कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षले अलग–अलग कार्यतालिका अघि सारेका छन्। दुवै पक्षले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन्।

गगन थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ। उक्त पक्षले आफ्नो घोषित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ।

देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको तयारी समितिमार्फत देउवा पक्षले जिल्ला तहमा समेत अधिवेशन तयारी अघि बढाएको छ।

पूर्वसभापति देउवा पक्षले थापा नेतृत्वको पक्षले अघि बढाएको अधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै आफ्नो पक्षले तय गरेको मंसिरको कार्यतालिकाअनुसार अघि बढ्न आह्वान गरेका छन्। यता थापा नेतृत्वको पक्षले भने आफ्नो अधिवेशन प्रक्रिया निरन्तर अघि बढाइरहेको छ।