September 26, 2026, Saturday
२०८३ आश्विन १०

कांग्रेसको समानान्तर महाधिवेशन : देउवा समूहले सबै तहमा जेनजी प्रतिनिधित्व अनिवार्य गर्दै

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको पूर्वसभापति शेरबहादुर देउवा समूहले वडादेखि केन्द्रसम्मका कार्यसमितिमा नवयुवा (जेनजी) प्रतिनिधित्व अनिवार्य गर्ने तयारी गरेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषलाई सबै तहका कार्यसमितिमा समेट्ने व्यवस्था प्रस्ताव गरिएको हो।

निर्देशिकामा निर्वाचित हुने प्रत्येक तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुष अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ। कांग्रेसको मौजुदा संरचनाअनुसार केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर र वडा गरी सात तहका कार्यसमिति छन्।

निर्देशिका निर्माणमा संलग्न स्रोतका अनुसार समावेशी समूह (क्लस्टर) बाट निर्वाचित हुने प्रतिनिधिमा समेत १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुषलाई समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ।

१८ देखि २८ वर्ष उमेर समूहका नवयुवा उपलब्ध नभए अन्य उमेर समूह वा अन्य समावेशी समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था पनि निर्देशिकामा राखिएको छ। विषयविज्ञ आवश्यक पर्ने स्थानमा विषयविज्ञको सहभागिता अनिवार्य गर्ने प्रावधानसमेत प्रस्ताव गरिएको छ।

निर्वाचन निर्देशिकालाई शनिबार अन्तिम रूप दिने तयारी रहेको स्रोतले जनाएको छ।

यसैबीच, १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको देउवा समूहले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाबाट अलग रहेर आफ्नै अधिवेशन प्रक्रिया अघि बढाएको छ।

देउवा समूहले असोज १५ गते देशभर वडा अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। महाधिवेशन तयारीका लागि समूहले सात प्रदेशका ५५ जिल्लामा संयोजक तोकिसकेको छ।

यता, सभापति गगन थापा नेतृत्वको कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको आधिकारिक कार्यतालिकामा असोज १६–१९ मै केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।

महाधिवेशनको उद्घाटन समारोहका लागि थापा नेतृत्वको कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेताहरूलाई निमन्त्रणा गर्ने तयारी गरेको छ। सहमहामन्त्री उदयशमशेर राणाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणा गरिएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार उद्घाटन समारोहमा छिमेकी मुलुकबाट समेत अतिथि बोलाउने तयारी भइरहेको छ। यसरी कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई छुट्टाछुट्टै संगठनात्मक प्रक्रिया अघि बढिरहेका छन् ।

थापा नेतृत्वको पक्ष असोज १६–१९ को महाधिवेशनमा केन्द्रित छ भने देउवा समूहले असोज १५ बाट समानान्तर अधिवेशन सुरु गरी मंसिरमा आफ्नो केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ।