डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता

काठमाडौं । नेकपा नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोज्ने घोषणा गरेपछि त्यसलाई धेरैले सम्बन्धविच्छेद (डिभोर्स) को तयारीका रूपमा बुझे। तर रञ्जिताले भने आफू डिभोर्सका लागि नभई रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको स्पष्ट पारेकी छन्।
रञ्जिताले बुधबार सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि रेशमविरुद्ध कानुनी कारबाहीको संकेत गरेको छ। उनले लेखेकी छन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्नँ, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ । तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’
नेतृ रञ्जिताले लामो समयदेखि आफू मौन बसे पनि पछिल्लो घटनाक्रमपछि कानुनी बाटो रोज्न लागेको बताइन्। ‘म धेरै समयदेखि मौन बसेकी थिएँ । तर मलाई नै झन् धेरै पीडा दिने काम भएको छ । म उहाँ (रेशम चौधरी) विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छु,’ उनले भनिन्।
रञ्जिता रेशमकी पहिलो पत्नी हुन्। उनीहरूका एक छोरा छन्। पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिकसँगै व्यक्तिगत सम्बन्धमा समेत दूरी बढेको छ। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्। रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा चौधरी र छोरीसँग बस्दै आएको बताइएको छ।
रेशम र आशाबीचको सम्बन्धबारे सामाजिक सञ्जालमा पनि विभिन्न सामग्री सार्वजनिक हुँदै आएका छन्। आशाले रेशमसँगका भिडिओहरू टिकटकमा पोस्ट गर्दै आएकी छन्। पछिल्लो एउटा भिडिओमा उनले ‘मान्छेहरू भ्रममा छन्, म उहाँको एक्लो बुढी हो’ भन्ने क्याप्सन लेखेकी थिइन्।
रञ्जिताको आरोपअनुसार रेशमले आफूसँग वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा आशासँग दोस्रो विवाह गरेका हुन्। रेशम र आशाबीच विवाह दर्ता भएको वा नभएको विषय भने कानुनी प्रक्रियामा महत्वपूर्ण हुने देखिन्छ। रञ्जिताले यही विषयलाई आधार बनाएर बहुविवाहसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन लागेको बताएकी छन्।
आशा मोडल तथा थारु चलचित्रकी अभिनेत्री हुन्। रेशम थारु चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय रहेका बेला उनीहरूबीच निकटता बढेको बताइएको छ। आशासँग भेट हुँदा आफू र रेशमबीच विवाह भइसकेको रञ्जिताको दाबी छ।
रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको सूचना पाएपछि आफूले बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको रञ्जिताले बताएकी छन्। यससँगै लामो समयदेखि राजनीतिक र व्यक्तिगत विवादमा रहेको रेशम–रञ्जिता सम्बन्ध अब कानुनी प्रक्रियामा प्रवेश गर्ने अवस्थामा पुगेको छ।





प्रतिकृया दिनुहोस्