September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

सरकारले विपद्पछिको उद्धार तथा राहतका लागि कोषमा जम्मा भएको रकम परिचालन गर्दै आएको छ । केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो ।

विपद्का घटनापछि उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सरकारले कोषमा रकम संकलन गर्दै आएको छ ।