बैतडीमा १० सडक आयोजनाका ठेक्का रद्द, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

बैतडी । सडक निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सडक डिभिजन कार्यालय बैतडीले कडा कारबाही थालेको छ। कार्यालयले विभिन्न सडक आयोजनाका १० वटा ठेक्का सम्झौता रद्द गर्दै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ।
तोकिएको म्याद समाप्त भइसके पनि निर्माण तथा मर्मतको काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्झौता पालना नगर्ने निर्माण व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ७ तथा ठेक्का सम्झौताको साधारण सर्त (जीसीसी) बमोजिम ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ। सम्झौता रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राख्न सिफारिस गरिनेछ।
ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको कार्यसम्पादन जमानत, धरौटी रकम तथा बाँकी पेस्कीबापतको जमानतसमेत जफत हुने कार्यालयले जनाएको छ। यस्तो कारबाहीले लामो समयसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि आर्थिक तथा कानुनी दबाब बढाउने देखिएको छ।
ठेक्का रद्द हुनेमा न्यू सहारा कन्स्ट्रक्सन डडेल्धुरा, जयलक्ष्मी निर्माण सेवा बाजुरा, प्रभास कन्स्ट्रक्सन बैतडी, श्री नरेन्द्र निर्माण सेवा बाजुरा, कुलगाडे निर्माण सेवा बैतडी, बिग बी एन्ड कम्पनी प्रालि बैतडी र रणसैनी निर्माण सेवा बैतडी लगायतका निर्माण व्यवसायी रहेका छन्।
रद्द गरिएका ठेक्काहरू महाकाली राजमार्ग, खोड्पे–चैनपुर राजमार्ग, मध्यपहाडी राजमार्ग र दार्चुला राजमार्ग अन्तर्गतका सडक मर्मत, स्तरोन्नति तथा सडक सुरक्षासम्बन्धी कामसँग सम्बन्धित छन्।
कार्यालयले ठेक्का रद्द गरेपछि निर्माण व्यवसायीको बाँकी काम तथा भुक्तानीसम्बन्धी हिसाब फरफारकका लागि १५ दिनको समयसीमा दिएको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायी वा उनीहरूका प्रतिनिधिलाई कार्यालयमा उपस्थित भई आर्थिक फरफारक गर्न भनिएको छ।
तोकिएको अवधिमा सम्बन्धित व्यवसायी वा प्रतिनिधि उपस्थित नभए कार्यालयले आफ्ना प्राविधिकमार्फत निर्माण भएको कामको नापजाँच गरी वित्तीय फरफारक गर्ने जनाएको छ।





प्रतिकृया दिनुहोस्