बैतडीका पूर्वसभापतिहरुको आह्वान- पार्टी एकढिक्का नभएसम्म वडा अधिवेशनमा सहभागी नहुन आग्रह

बैतडी। नेपाली कांग्रेस बैतडीका चार पूर्वसभापतिले पार्टी एकढिक्का नभएसम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन पार्टीका क्रियाशील सदस्यलाई आग्रह गरेका छन्।
पूर्वसभापतिहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्रको विवाद समाधान गरी एकता, सहमति र लोकतान्त्रिक विधिबाट अघि बढ्न नेतृत्वलाई आग्रह गरेका हुन्।
‘पार्टी एकढिक्का नहुँदासम्म एकतर्फी रूपमा अघि बढाइने भनिएका वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन नेपाली कांग्रेस बैतडीका सम्पूर्ण क्रियाशील सदस्य साथीहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा पूर्वसभापतिहरू नरेन्द्रबहादुर बम, नरेन्द्रसिंह बिष्ट, शिवराज भट्ट र नरबहादुर चन्द छन्।
केन्द्रीय कार्यसमितिको निर्णयबिना सम्पन्न भएको विशेष महाधिवेशन र त्यसपछि अघि बढाइएका गतिविधिले पार्टीभित्र विभाजनको अवस्था सिर्जना गरेको उनीहरूको ठहर छ।
पार्टीभित्रको विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा समेत एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
‘पार्टीलाई एकताबद्ध देख्न चाहने आम नेता–कार्यकर्ताको भावना र विश्वासमाथि गम्भीर आघात पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा तथा पार्टीको सुदृढ भविष्यका लागि कांग्रेसको सम्पूर्ण एकता अपरिहार्य रहेको उनीहरूले बताएका छन्।
पूर्वसभापतिहरूले पार्टीभित्र देखिएको विवादको समाधान संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट खोज्नुपर्नेमा जोड दिएका छन्।






प्रतिकृया दिनुहोस्