बाजुरामा पहिरो : ३ घर पुरिए, २० भन्दा बढी घर जोखिममा

बाजुरा : अविरल वर्षासँगै आएको पहिरोले गौमुल गाउँपालिका–३ कटीगाउँमा तीन घरमा पूर्ण क्षति पुर्याएको छ। बिहीबार साँझ करिब ५ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय पूर्णिमल बोहरा, बुदी बोहरा र हिक्मत बोहराको घर पुरिएको गाउँपालिकाले जनाएको छ।
पहिरोमा परेर केही पशुचौपाया मरेका छन्। मानवीय क्षति भने नभएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। उनका अनुसार कटीगाउँका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा छन्।
राति र मौसम प्रतिकूल भएकाले क्षतिको पूर्ण विवरण संकलन तथा उद्धारमा कठिनाइ भएको छ। पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्न गाउँपालिकाले त्रिपालसहित राहत सामग्री घटनास्थल पठाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय घटमुनाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
यसअघि त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षासँगै आएको पहिरोमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। एक सातामै जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेपछि स्थानीयमा त्रास बढेको छ।





प्रतिकृया दिनुहोस्